गान्तोकः सिटिजन एक्सन पार्टी सिक्किमको योक्सुम-टाशीडिङ निर्वाचन क्षेत्रस्तरीय सभा आज गेरेथाङ बजारमा आयोजित भयो। निर्वाचन क्षेत्र स्तरीय समितिको यस सामन्वय सभालाई पार्टी अध्यक्ष एलपी काफ्लेले अध्यक्षता गरेका थिए। यसबाहेक सभामा पार्टीका मुख्य समन्वयक गणेश राई साथै पार्टी वरिष्ठ नेता नेतृगण र योक्सुम-टाशीडिङका आमजनताको बाक्लो उपस्थिति रहेको सिटिजन एक्सन पार्टीको गेजिङ जिल्ला स्तरीय समितिको प्रचार-प्रसार शाखाका अध्यक्ष खगेन्द्र दाहालले प्रेस विज्ञप्तिमा जनाएका छन्। यस अवसरमा योक्सम-टाशीडिङ क्षेत्र साथै सिक्किमका विभिन्न स्थानबाट लगभग ५० जना मानिसहरूले सिटिजन एक्सन पार्टी-सिक्किमको सदस्यता लिए।
सभालाई सम्बोधन गर्ने क्रममा जिग्मी भोटियाले सिक्किममा परिवर्तन नआएको तर व्यापक रूपमा भ्रष्टाचार भएको ठहर गरे। जुन वाचा गरेर एसकेएम पार्टी सरकारमा गएको थियो, ती वाचाहरू सबै फुस्रा भएका छन् भन्दै एसकेएमले सत्ता छोड़्ने समय आएको बताए। संघ सीटको भोटर रहेका जिग्मी भोटियाले संघ तथा लामा भनेको के हो? भन्ने विषयमा उदाहरण राख्दै लामा कस्तो हुनुपर्छ भन्ने कुरामा जोड़ दिएका थिए। आज नै पार्टीमा प्रवेश गरेका दरामदिन निर्वाचन क्षेत्रका ललन सुब्बाले आफ्नो जीवनको पहिलो राजनैतिक भाषण राख्दै वर्तमान सरकारको राजनीतिमा कुनै नीति नरहेको आरोप लगाए। सभालाई पार्टीको गेजिङ जिल्लाका कार्यकारी अध्यक्ष ओङ्दिला भोटिया, प्रवक्ता प्रकाश पराजुली, सुसमिता छेत्री, विसाल चोङले पनि सम्बोधन गरेका थिए। उनीहरूले विशेष गरेर स्वर्गीय पदम गुरूङको पक्षमा न्यायको माग राखेका थिए।
यस बाहेक सड़क व्यवस्था, पर्यटन, स्वास्थ्य सेवा, शैक्षिक संस्थानहरूले भोगी रहेका समस्या आदि विषयहरूमा सरकारको ध्यान आकर्षण गर्दै सरकार सम्पूर्ण रूपले फेल भएको बताए। प्रकाश पराजुलीले आफ्नो वक्तव्यमा विशेष गरेर यस क्षेत्रले भोगेका शैक्षिक समस्याहरूलाई विशेष जोड़ दिएका थिए। क्षेत्रमा रहेका आधिकाङ्श विद्यालयहरूमा विद्यालय प्रमुख/प्रधान अध्यापकहरूको कमि रहेको उनले बताए। सभामा आफ्नो सम्बधन राख्ने क्रममा पार्टीका प्रमुख समन्वयक गणेश राईले एसकेएम पार्टीको जन उन्मुक्ति दिवसमाथि कटाक्ष प्रहार गरे। उनले उन्मुक्ति भनेको समाजिक, राजनैतिक, आर्थिक, लैङ्गीक उत्पीड़नबाट मुक्ति दिलाउनु डर, भय, त्रास, खुन खराबाबाट मुक्त गराउनु तथा न्याय सुनिश्चित गराउनु हो भनी बताए। उनले सिक्किमले भर्खरै पाएको गुड गवरनेन्स अवार्डमाथि व्याङ्ग गर्दै स्वर्गीय पदम गुरूङको केसलाई दबाउन खोजेको आरोप लगाए।
वर्तमान सरकार कुनै पनि रूपले पारदर्शी छैन, एकाउन्टेवल छैन र राज्यको कानुन व्यवस्था नाजुक रहेको छ भन्दै आज हजारौं युवा-नारीहरूलाई अन्याय भइरहेको उनले बताए। सरकारले सबै जनतालाई सम्मान व्यवहार नगरेको र भाषणमा नै गाईले गाईको बाछा चाट्नुपर्छ भन्ने अभिव्यक्तिले यहाँ न्याय नै खतरामा परेको छ भन्ने गणेश राईले आरोप लगाएका छन्। यस्तो सरकार कसरी राम्रो सरकार हुनसक्छ भन्ने प्रश्न गर्दै सरकार तर्क विहिन सरकार रहेको र नानाभातीका नेरेटिभ चलाएर अहिलेसम्म जनतालाई भ्रमित गरिरहेको बताए। एसकेएम सरकार एकमुठी मान्छेहरूको मात्र भएको तर जनताको लागी नभएको उनले आरोप लगाए। सरकार जनताको सरोकारको पछि नभएर आफ्नो पछि लागेको छ भन्दै बोलेरो र ५ कड़ोर इनाम राखेर आफ्नो बदनाम गराउने पर्यास सरकारबाट भइरहेको गणेश राईले सशामा बताएका प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
आफ्नो अध्यक्षीय सम्बोधनमा पार्टीका अध्यक्ष एलपी काफ्लेज्यूले स्थानीय क्षेत्रमा जनताले भोग्न परिरहेका विभिन्न समास्याको उठान गरेका थिए। उनले लिम्बू-तामाङको सीट आरक्षणमाथि सरकार गम्भीर तथा इमान्दार नरहेको र लिम्बू-तामाङ समुदायलाई धोका दिएको आरोप लगाए। उनले सिटिजन एक्सन पार्टी सरकारमा पुगेपछि जनताको जीवनलाई गम्भीरतापूर्वक हेर्ने सबै क्षेत्रमा आधारभुत सुधार गर्ने कुरामा जोड़ दिएका विज्ञप्तिमा उल्लेख गरिएको छ।