४ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मजुआ फूटबल क्लबले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा शुक्रवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा मजुआ फूटबल क्लबले नेपालको लिटल किकर्स एकाडमीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सागर लाकराले २४औं अनि रोहित मुर्मुले ६७औं मिनटमा गोल गरे।

यसरी लिटल किकर्स एकाडमीबाट सन्तोष शर्माले ६२औं मिनटमा गोल गरे। शनिवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा फूटबल क्लब र आयोजक सालुगढ़ा नेत्र बिन्दु संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।