खरसाङ: नेपाली साहित्यका प्रसिद्ध व्यक्तित्व, समालोचक रामकृष्ण शर्माको जन्म शतवार्षिकीको छेक पारेर सालबारीमा एक विशेष कार्यक्रम आयोजना गरी उनको स्मरण गरेका छन् यसको साथै समालोचक शर्माको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएको छ। विशिष्ट साहित्यकार नरबहादुर दाहाल जो रामकृष्ण शर्माका विद्यार्थी साथै घनिष्टतामा रहेका साहित्यकार हुन् उनीबाटै रामकृष्ण शर्मामाथि विशेष व्याख्यान सुन्न यो आयोजना गरिएको थियो। साहित्यकार नरबहादुर दाहालकै बाहुलीबाट समालोचक रामकृष्ण शर्माको तस्वीरअघि प्रथममा दीप प्रज्वलन गरियो अनि उनीसितै उपस्थित साहित्यकारहरूले खदा र श्रद्धासुमन अर्पण गरेका थिए। यस अवसरमा कार्यक्रमका मूल आयोजक कवि ज्ञानेन्द्र खतिवड़ाले कार्यक्रम आयोजनाको उद्देश्यसित समालोचक रामकृष्ण शर्मामाथि पारिचायिक सम्बोधन राखे। यस क्रममा उनले रामकृष्ण शर्मालाई विख्यात समालोचक र तार्किक व्यक्तित्व बताए। उनको प्रसिद्ध रचना वीरगतिको धोकोमाथि पनि उनले प्रकाश पारे। कोलकाता उच्च न्यायलयका न्यायधीश रहेका शर्माको जाति र भाषा-साहित्यप्रेमका कुराहरू उनले राख्दै उनले यस वर्ष हामी नेपाली साहित्यका प्रसिद्ध समालोचक रामकृष्ण शर्माको जन्म शतवार्षिकी मनाइरहेका छौं। १५ मईको दिन उनको जन्मजयन्ती थियो तर सालबारीका साहित्यकारहरू विभिन्न स्थानमा आयोजना भएका पुस्तक लोकार्पण कार्यक्रमहरूमा व्यस्त रहेका हुनाले आज यो आयोजना गरिएको बताएका छन्। कार्यक्रममा वरिष्ठ साहित्यकार नरबहादुर दाहालले रामकृष्ण शर्माबारे धेरै कुराहरू राखे। उनले भने उनी रामकृष्ण शर्माको चेला थिए अनि उनीसित निकटको साहित्यिक सम्बन्ध थियो। संस्मरणका निम्ति साहित्यकार नरबहादुर दाहालले रामकृष्ण शर्माको सान्निध्यमा हुँदाका रोचक संस्मरणहरू साझा गरे। रामकृष्ण शर्मा कस्ता व्यक्ति थिए भन्ने कुरा बताउँदै साहित्यकार दाहाल बताइरहेका थिए, उनी कसैसित नदब्ने, निडर, तार्किक अनि भाषा साहित्य र जातिको निम्ति मरिमेट्ने व्यक्तित्व थिए। साहित्यकार दाहालले उनीसित कालेबुङमासँगै बिताएका दिनहरू, नेपाल जाँदाका रोचक संस्मरणसित रामकृष्ण शर्माका साहित्यिक योगदानहरूबारे धाराप्रवाह रूपमा बताइरहेका थिए। उनले रामकृष्ण शर्मा र नेपालका विशिष्ट साहित्यकार गणेशबहादुर प्रसाईंसितको एउटा भेटको रोचक प्रसङ्ग बताए। उनले रामकृष्ण शर्माको जन्म शतवार्षिकीको छेक पारेर सालबारीले यो आयोजना गरेर एक महत्त्वपूर्ण कार्य गरेको छ बताउँदै उनको सम्झनामा ठाउँ ठाउँमा वर्षैभरि कार्यक्रमहरू आयोजना हुनु आवश्यक छ, सालबारीले उनीमाथिको कार्यक्रम आयोजना गरेर एक एेतिहासिक व्यक्तित्वलाई सम्झना गर्न पाएकोमा उनले खुशी व्यक्त गरे। यस अवसरमा विशिष्ट कवि भविलाल लामिछानेले रामकृष्ण शर्मा आसाम जानुहुँदा भेट गर्न सकिएको मीठो संस्मरण राखे। विशिष्ट कवि मोहन ठकुरीले रामकृष्ण शर्मा अनौठो प्रवृतिका, कड़ा मिजाजका मानिस सुनेको बताउँदै रामकृष्ण शर्माको व्यक्तित्वमाथि अरू थप कुराहरू राखे। यस अवसरमा युग्मककार कालूसिंह रनपहेंलीले रामकृष्ण रामकृष्ण शर्माको भाषा-साहित्य र जाति प्रेमको प्रसङ्ग झिक्दै वर्तमानकी प्रखर कवि योगिता राईको कृति समयबोधबाट जातिप्रेमको एउटा सुन्दर कविता मलाई जिउँदो हुनुको प्रमाण दे पठन गरेर सुनाए। साहित्यकार रामकृष्ण शर्मामाथि साथै आफ्ना कुराहरू पनि राख्ने क्रममा कथाकार-अनुवादक जीतबहादुर सुनार, कवि लीलबहादुर सुनार आदिले आफ्ना मन्तव्यहरू राखे भने कवि हेमन्त काफ्लेले रामकृष्ण शर्माले साहित्यकार शरद प्रधानलाई अङ्ग्रेजीमा लेखेका एउटा पत्र पठन गरेर सुनाए। यस अवसरमा वरिष्ठ कवि-कथाकार-सम्पादक खड़गराज गिरी, चिया उद्योगबाट सेवा निवृत्त अधिकारी ललित कुमार सोताङ, गोम्देन टी बारका स्वामी अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो।










