गान्तोकः लेप्चा समुदायको महान पर्व टेण्डोङ ल्हो रूम फात यस वर्ष राज्यस्तरीयरूपमा राजधानीमा पालन गरिने भएको छ। आगामी ६-८ अगस्तसम्म विभिन्न कार्यक्रमसहित राजधानीस्थित मनन केन्द्रमा यो पर्व पालन गरिने आयोजक समितिका अध्यक्ष एवम् मन्त्री साम्डुप लेप्चाले पत्रकारहरूलाई जानकारी गराए।
उनले थप जानकारी गराए अनुसार, उक्त कार्यक्रममा राज्यका राज्यपाल र मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि उपस्थिति रहनेछन्। विशेष गरेर लेप्चा समुदायले यो दिन प्रकृतिको पूजा अर्चना गर्ने प्रचलन रहेको उनको भनाइ रहेको छ। यस तीन दिवसीय कार्यक्रममा भोइस अफ् टेण्डोङ, नृत्य प्रतियोगिता र डेञ्जोङ नलेज सिरिजको आयोजना गरिने भएको छ।
यसै क्रममा आयोजक समितिका संयोजक छिरिङ वाङचुक लेप्चाले तीन दिवसीय कार्यक्रमको रूपरेखाबारे बताउँदै आगामी 6 अगस्तदेखि ८ अगस्तसम्म राजधानीस्थित एमजी मार्गमा खुल्ला बजार राखिने जनाए। सो बजारमा राज्यभरिका सेल्फ हेल्प ग्रुपले आफ्नो उत्पादन बिक्री साथै प्रदर्शनीको निम्ति राख्नको निम्ति स्थान उपलब्ध गराउने बताए। कार्यक्रमको अन्तिम दिन विराटरूपमा शोभा यात्रा आयोजना गरिने र उक्त यात्रामा राज्यका सबै समुदायले सहभागिता जनाउने जानकारी गराए।
यस कार्यक्रममा सिक्किम विधान सभाका उपाध्यक्ष साङ्गे लेप्चा, विधायक वाइटी लेप्चा लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।