अहिले पाद्री ओझेलबाट उज्यालोमा आएको छ: सलोन कार्थक
खरसाङ: खरसाङमा पाद्री गङ्गाप्रसाद प्रधानको १७२ औं जन्म जयन्ती पालन गरिएको छ। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा गत केही महिना अघि अनावरण गरिएको पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा गोर्खा जनपुस्ताकालय र पाद्री गंगाप्रसाद प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ।

पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र वरिष्ठ साहित्यकार सलोन कार्थकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा अध्यक्ष, प्रमुख अतिथि र अन्य अतिथिहरूद्वारा धुप दीप प्रज्वलन साथै खदार्पण गरी पाद्री गङ्गाप्रसाद प्रधानलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेको कार्यक्रममा राजीव थापाले स्वागत सम्भाषण राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार सलोन कार्थकले खरसाङको पहलमा पाद्रीको सालिग अनावर गरिएको कुरामा खुशी व्यक्त गर्दै पाद्री गङ्गाप्रसाद ओझेलबाट उज्यालोमा आएको बताएका छन्। उनले आफु कलेज पढ्दादेखि नै पाद्री गङ्गाप्रसाद प्रधानको चर्चा सुनेको र पाद्रीमाथि जिज्ञासा उत्पन्न भएको र काठमाण्डौंमा हुँदा मदन पुस्ताकालयमा पाद्री गङ्गाप्रसाद प्रधानद्वारा सम्पादित ‘गोर्खे खबर कागत्’ को १८ वटा प्रति प्राप्त भएको र उनी पत्रकार थिए भन्ने बुझेको बताए। सलोन कार्थकले आफुले सन् २००१ मा नै ‘पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी विषय लिएर ‘पाद्री गङ्गाप्रसाद प्रधानको जीवन बखान’ नामक पुस्तक प्रकाशन गरेको र त्यस कृतिलाई धेरैले मन पराएको अनि विस्तारै पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन हुन थालेको बताएका छन्। उनले अहिले भारतभरि विभिन्न स्थानहरूमा पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गर्ने गरेको बताउँदै खरसाङको पहलमा पाद्रीको सालिग अनावर गरिएको कुरामा खुशी व्यक्त गरे। उनले अब पाद्री गङ्गाप्रसाद प्रधान ओझेलबाट उज्यालोमा आएको छ भनी बताउँदै पाद्री गङ्गाप्रसाद प्रधान विषयमा अझ लिद्वानहरूले सठीक कार्य गर्ने र पाद्रीको व्यक्तित्व अघि आउनेछ भनी आशा व्यक्त गरेका छन्।
कार्यक्रममा खरसाङका गण्यमान्य व्यक्तिहरू, गोर्खा जनपुस्ताकालय खरसाङको पदाधिकारीहरू र पाद्री गंगाप्रसाद प्रधान प्रतिष्ठानबाट संयोजकद्वय राजीव सुब्बा र हनोक थापा पनि उपस्थित रहेका थिए। पाद्री गङ्गाप्रसाद प्रधानको उत्तरार्ध्दको कार्यक्रम अपरान्ह्र खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा सम्पन्न हुने भएको छ।