गान्तोकः दक्षिण सिक्किमको किताममा चारदिने पुतली सर्वेक्षण सम्पन्न गरिएको छ जसबाट यहाँ १३१ प्रजातिका पुतलीहरूको उपस्थिति रहेको पत्तो लगाइएको छ। अहिलेसम्मको सर्वेक्षणमा सिक्किम राज्यमा लगभग ७२० प्रजातिका पुतलीहरू पाइने बताइन्छ। सिक्किमको बटरफ्लाई सोसाइटीले भर्खरै नाम्ची जिल्लाभित्र पर्ने किताममा मौसमी पुतलीका प्रजातिहरू गणना गर्ने उद्देश्यले चारदिने सर्वेक्षण आयोजन गरेको थियो।
२८ जुलाईदेखि ३१ जुलाईसम्म गरिएको यो सर्वेक्षणले १३१ वटा छुट्टाछुट्टै प्रजातिका पुतलीहरूको उल्लेखनीय गणना गरेको एउटा प्रेस विज्ञप्तिमार्फत् जनाइएको छ। सोसाइटीका सदस्यहरूले कितामको स्थानीय सर्वेक्षण टोली फाल्कोन क्लबसँग संयुक्त रूपमा सर्वेक्षण गरेका थिए।
उक्त सर्वेक्षणको विशेष ध्यान रङ्गित नदी र मानपुर खोलाको तटीय क्षेत्रहरूमा केन्द्रित थियो। यी क्षेत्रहरूका तराईका पुतली प्रजातिहरूको पर्याप्त उपस्थिति रहेको पाइएको छ, जसले यस क्षेत्रलाई राज्यभित्रको महत्त्वपूर्ण पुतली निवास स्थानमा रूपान्तरण गर्ने सम्भावनालाई सङ्केत गरेको विज्ञम्तिमा उल्लेख गरिएको छ।
चार दिनको सर्वेक्षणको क्रममा पत्तो लगाइएका उल्लेखनीय प्रजातिहरूमध्ये ब्राउन अउल, याम्फ्लाइ, ग्रेट मोर्मन, एबरेन्ट ओकब्लु, स्मल ग्रीन एवलेट, पेन्टेड जेजेबेल, ओरेन्ज ब्रान्डेड एवलेट, ब्लू इम्पेरियल र फ्लफी टिट सामेल छन्। सिक्किमको बटरफ्लाई सोसाइटीले फाल्कन क्लबसँग मिलेर वनभित्रको वन्यजन्तु डिभिजन कितामसँग सम्बन्धित वन अधिकारीहरूलाई सावधानीपूर्वक संकलित चेकलिस्ट प्रस्तुत गरेको छ।
सोसाइटीले कितामको वन्यजन्तु शाखाले गरेको सहयोग र सहकार्यप्रति हार्दिक आभार प्रकट गरेको छ। बटरफ्लाई सोसाइटी सिक्किमले राज्यभरिका महत्त्वपूर्ण स्थलहरूलाई चिन्हित गरिरहेको छ। यसै वर्षको मई महिनादेखि शुरू गरिएको यो पुतली प्रजाति गणना सर्वेक्षणले सिक्किमका महत्वपूर्ण चराचुरुङ्गी क्षेत्रहरू चिन्हित गर्नुका साथै डिजाइन गरिएको एउटा प्रमुख परियोजनाको महत्त्वपूर्ण पक्षलाई प्रतिनिधित्व गरिरहेछ।
उल्लेखनीय छ, सिक्किममा जब देखि जैविक खेती शुरू भयो, तबदेखि पुतली अनि चराचुरुङ्गीका प्रजातिहरू पनि यसमा आकर्षित भएको मानिन्छ। सिक्किम विश्वविद्यालयको एउटा सर्वेक्षण टोलीले जैविक खेतीले पुतली प्रजातिको विविधता बढाएको पत्ता लगाएको छ। जानकारी गराइन्छ, ब्लु ड्युक नामक पुतलीलाई सिक्किम राज्य पुतलीको रूपमा घोषणा गरिएको छ। २०२२ को पर्यावरण दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले ब्लु डक्युकलाई राज्य पुतली घोषणा गरेका थिए।