विधायक विष्णु कुमार खतिवड़ा मन्त्री बन्ने, शुक्रवार शपत ग्रहण

skmp_275

गान्तोकः रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णु कुमार खतिवड़ा मन्त्री परिषदमा सामेल हुने भएका छन्। एसकेएम विधायक दलको १८औं बैठकले विधायक खतिवड़ालाई मन्त्रीको पदभार सुम्पिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। उक्त बैठक आज मिन्तोकगाङमा मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको थियो।

मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेतद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, बैठकमा एसकेएम पार्टीका सेक्रेटरी जेनरल अरुण उप्रेती, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका सल्लाहकार, राजनीतिक सचिव, प्रेस सचिव आदि उपस्थित थिए। बैठकमा राज्य अनि पार्टी सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा गरियो।

बैठकमा विधायक विष्णु कुमार खतिवड़ालाई मन्त्री परिषदमा सामेल गर्ने प्रस्ताव सर्वसम्मतिद्वारा पारित गरियो। भोलि, ४ अगस्तका दिन राजभवनमा विधायकले मन्त्री पदको शपत ग्रहण गर्नेछन्। बैठकलाई सम्बोधित गर्दै मुख्यमन्त्री तामाङले सबै विधायकहरूलाई अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रमा दिन तथा आफ्नो क्षेत्रको कल्याणका लागि काम गर्न निर्देश दिए। उनले सरकारका योजनाहरूको प्रचार-प्रसार गर्न वार्डस्तरमा निरन्तर सभाहरू आयोजन गर्न सुझाउ पनि दिए। उनले राज्यका मुद्दाहरू केन्द्र सरकार समक्ष राख्न चॉंडै राज्य टोली दिल्ली जाने पनि जानकारी गराए। बैठकले छैटौं जन उन्मुक्ति दिवसको तयारी गर्ने पनि निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement