गान्तोकः जुम-सालघारी समष्टिको जोरथाङ डाँडा गाउँ, सिस्ने र बैगुनेका १५ घर एसकेएम समर्थकरूले पार्टी परित्याग गरी एसडीएफ पार्टीमा सामेल भएको दाबी गरिएको छ। जोरथाङस्थित एसडीएफ पार्टी जोनल कार्यलयमा पश्चिम सिक्किम कार्यकारिणी समितिद्वारा आयोजित सामेल कार्यक्रममा १५ परिवार विधिवत रूपमा एसडीएफ पार्टीमा प्रवेश गरे। उक्त जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष सतीस मोहन प्रधानको अध्यक्षतामा आयोजित यस सामेल कार्यक्रममा सामेल हुनेहरूलाई खदामालासहित पार्टीको झण्डा र साहित्य प्रदान गरियो। विज्ञप्ति अनुसार, पार्टीमा सामेल हुनेहरूले यतिका समयसम्म एसकेएम सरकारसित सन्तुष्टि नभएको कारण यस पार्टीलाई परित्याग गरी आफुहरू एसडीएफ पार्टीमा सामेल बनेको बताए।
सामेल कार्यक्रममा अध्यक्षीय छोटो सम्बोधन राख्दै सतीस मोहन प्रधानले उचित समयमा एसडीएफ पार्टी र नेता पवन चामलिङको नेतृत्व आत्मसात गरेकोमा सामेल हुनेहरूलाई बधाई टक्राए। यसका साथै उनले सिक्किमको विकास, समृद्धि र जनतालाई न्याय दिने केवल एसडीएफ पार्टी मात्र हो भने। चामलिङको नेतृत्वमा सबैको सुरक्षा र कल्याण हुने बताउँदै सबै विश्वस्त बन्न प्रधानले आग्रह गरे।