एसकेएम सरकारमा थपिने छन् एकजना नयाँ मन्त्री

si

गान्तोकः पछिल्लो २ फरवरीदेखि रिक्त रहेको सिक्किम सरकारको स्वास्थ्य विभागमा मन्त्रीको पद चाँडै पूर्ण हुने भएको छ। सिक्किम सरकारले भोलि शुक्रवार एउटा मन्त्री पदका लागि शपत ग्रहण समारोह आयोजन गरेको छ, जसपछि स्वास्थ्य विभागमा रिक्त रहेको मन्त्रीको पद पूर्ण हुने विश्वास गरिएको छ।

सरकारले कसलाई नयाँ मन्त्री बनाउने हो त्यो सबैका लागि चासोको विषय रहेको छ, किनभने अहिलेसम्म भोलि मन्त्री पदका लागि शपत लिने विधायकको नाम सार्वजनिक गरिएको छैन। २ फरवरीका दिन एसकेएम सरकारको मन्त्रीमण्डलबाट तत्कालिन स्वास्थ्य विभागका मन्त्री डा. मणिकुमार शर्माले राजीनामा दिएपछि सरकारमा स्वास्थ्य विभागको मन्त्रीपद रिक्त रहेको छ।

भोलि हुने शपत ग्रहणपछि सरकारले नयाँ मन्त्रीलाई नै स्वास्थ्य विभागको जिम्मेवारी दिने हो वा क्याबिनेटमा रहेका मन्त्रीहरूको विभागमा पनि फेरबदल गर्ने हो, त्यसबारे पनि स्पष्ट हुन सकेको छैन। एसकेएम सरकारमा नयाँ मन्त्री पद पाउनेहरूको सूचीमा रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णु कुमार खतिवडा, विधायक आदित्य गोले र सुनिता गजमेरको बाटो खुल्ला छ।

यता एसडीएफबाट एसकेएम गएका विधायक एम प्रसाद शर्मा र जीटी ढुङ्गेल मध्ये कोही एकजनालाई सरकारले मन्त्रीमण्डलमा सामेल गराउनसक्ने स्थिति रहेको छ। एसकेएम सरकारको समर्थकको रूपमा रहेको भारतीय जनता पार्टीका १२ विधायक पनि छन्, तर उनीहरूमध्येका कसैलाई सरकारले एउटा मन्त्रीपद दिन्छ भन्ने सम्भावना भने देखिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement