३ अगस्तः भारत र बंगालका अनुभवी ब्याटर मनोज तवारीले बिहीवार क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरे। सोशल मीडियामा ३७ वर्षीय क्रिकेटरले यसबारे जानकारी शेयर गरेका छन्। तिवारीले इन्स्टाग्राममा लेखेका छन्, क्रिकेट खेललाई अलविदा। यस खेलले मलाई सबैथोक दियो, जसको मैले कल्पना पनि गरेको थिइनँ। अहिले खेलबाट बिदा लिने समय आएको छ। तिवारीले २००८-मा ब्रिसबेनमा वनडे म्याचको साथ इण्टरनेशनल क्रिकेटमा पदार्पण गरेका थिए तर पहिलो म्याचमा उनी शून्यमा आउट भएका थिए। त्यसपछि उनले फेरि भारतको तर्फबाट खेल्न लगभग तीन साल प्रतीक्षा गर्नु पऱ्यो, जसमा उनले चेन्नईमा वेष्ट इण्डिज विरुद्ध इण्टरनेशनल क्रिकेटमा आफ्नो एकमात्र शतक बनाए।
साल २०१२-मा वनडे टीमबाट बाहिर गरिएपछि तिवारीले केवल चारपल्ट देशको प्रतिनिधित्व गर्ने मौका पाए, जसमा २०१५-मा जिम्बाब्वे विरुद्ध एउटा सीरीज पनि सामेल छ। सबै मिलाएर उनले राष्ट्रिय टीमको निम्ति १२ वटा वनडे अनि ३ वटा टी२० इण्टरनेशनल म्याच खेले। उनले १२ वटा वनडे म्याचमा २६.०९-को औसतले २८७ रन बनाए। उनको सर्वोच्च स्कोर अविजित १०४ रन रह्यो। यसरी ३ वटा टी२० म्याचमा उनले १५ रन बनाए। पश्चिम बंगालमा युवा मामिला अनि खेल मन्त्री तिवारीले राष्ट्रिय स्तरबाट बाहिर भएपछि घरेलु क्रिकेटमा राज्यको निम्ति लगातार असल प्रदर्शन गरे। हालै रणजी ट्रफी फाइनलमा उनले कप्तानी पनि गरेका थिए। प्रथम श्रेणीको असाधारण करियरमा दाहिने हातका ब्याटरले ४८.५६-को औसतले २९ वटा शतकको साथ ९९०० रन बनाए। यसमा जनवरी २०२२-मा हैदराबाद विरुद्ध बनाएको अविजित ३०३ रनको सर्वश्रेष्ठ स्कोर पनि सामेल छ। तिवारीले आईपीएलमा पनि ९८ वटा म्याच खेले अनि २०१२-को फाइनलमा चेन्नई सुपर किंग्स विरुद्ध कलकत्ता नाइट राइडर्सको तर्फबाट विजयी रन पनि बनाएका थिए। आईपीएलमा उनको सर्वश्रेष्ठ सीजन २०१७-मा आयो जब उनले राइजिंग पुणे सुपरजाइण्ट्सलाई फाइनलसम्म पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे तर त्यस सीजनपछि उनले प्रतियोगितामा केवल पाँचवटा म्याच खेल्ने मौका पाए।