नयाँ दिल्लीः भारतीय जनता पार्टी (भाजपा)-ले राजस्थान सरकारमाथि फेरि प्रहार गरेको छ। भाजपाका राष्ट्रिय प्रवक्ता डा. सुधांशु त्रिवेदीले बिहीवार सम्पन्न एक पत्रकार सम्मेलनमा ‘लाल डायरी’- मा लुकेको भ्रष्टाचारका घटनाहरू बोफोर्स घोटाला जस्तै रहेको बताए। उनले भने, राजस्थान सरकारको आज फेरि एउटा कालो अध्याय थपिएको छ। यो कालो अध्याय ‘लाल डायरी’- सित सम्बन्धित छ। ‘लाल डायरी’-ले राजस्थानका मुख्यमन्त्री अशोक गहलोतको मात्र नभएर उनको छोराका कृत्यहरूको पनि खुलासा गरिरहेको छ। राजस्थान सरकारको लागि यो बोफोर्स क्षण हो। किनभने आरोप स्वयं सरकारले लगाएको छ।
राजस्थानका मन्त्री राजेन्द्र सिंह गुढ़ाको सम्बन्धमा राजस्थान क्रिकेट एसोसिएशन (आरसीए)-को चुनाउमा भएको गड़बड़ीको आरोपलाई लिएर सुधांशु त्रिवेदीले भने, राज्यको कंग्रेस सरकार राजस्थान क्रिकेट एसोसिएशनमा पैसाको लेन-देनमा लिप्त छ। यो आरोप स्वयं राज्य सरकारका मन्त्रीले मुख्यमन्त्रीमाथि लगाएका छन्। सरकारका मन्त्रीले यो विषयलाई सदनमा उठाएका छन्। सरकारको भ्रष्टाचारको योभन्दा अधिक प्रामाणिकता अरू के हुनसक्छ र?
उल्लेखनीय छ, गए बुधवार राजस्थानका पूर्वमन्त्री राजेन्द्र गुढ़ाले लाल डायरीको एउटा पृष्ठ जारी गरे। उनले दाबी गरे, राजस्थान क्रिकेट एसोसिएशन (आरसीए)-मा व्यापक भ्रष्टाचार भएको छ। लाल डायरीको जाँच आयकर विभाग र प्रवर्तन निदेशालयले गर्नुपर्छ।
-हिस