पार्टीविहिन पञ्चायत चुनाउ गराएर वर्तमान सरकारले उदाहरण प्रस्तुत गऱ्योः मन्त्री शेर्पा

IMG-20230802-WA0373.jpg

गान्तोक: दरामदिन निर्वाचन क्षेत्रको ओखरेस्थित शेर्पा भवनमा खण्ड बिकास कार्यालयको पहलमा निर्वाचित जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत अनि सत्तारूढ पार्टीका पदाधिकारीहरूलाई लिएर एक समन्वय बैठक सम्पन्न भयो। आजको समन्वय बैठकमा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा मुख्य अतिथिको रुपमा उपस्थिति थिए। मन्त्री शेर्पाको साथमा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका पश्चिम जिल्लाका उपाध्यक्ष प्रभारी डीबी गुरुङ, अनुसुचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, खण्ड विकास अधिकारी साथै अन्यहरूको पनि उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै मन्त्री शेर्पाले वर्तमान सरकारले पार्टीविहिन पञ्चायत चुनाउ सम्पन्न गराएर भारतमा नै उदाहरण प्रस्तुत गरेको दावी गरे। पार्टीविहिन चुनाउ भएको कारणले समाजको निम्ति केही गर्छु भन्ने शिक्षित युवाहरूले पनि चुनाउमा सहभागी बन्ने अवसर प्राप्त गरेको बताए। ग्रामीण क्षेत्रलाई विकास गर्नको निम्ति सबैले एक अर्कामा तालमेर राखेर काम गर्नुपर्ने आग्रह गरे। यसरी नै सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरूङले आफ्नो सम्बोधनको क्रममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले चार वर्षको कार्यकालमा पूर्व मुख्यमन्त्री चामलिङले २५ वर्षमा सोँच्न नसकेको कार्यहरू कामहरू गरेर उदाहरण प्रस्तुत गरेको किटान गरे। पूर्व मुख्यमन्त्रीको सोंचदेखि बाहिरको कार्यहरू अहिले सिक्किम राज्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा भइरहेको उनले बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले प्रजातान्त्रिक ढङ्गमा समाजवादको सिद्धान्तलाई अङ्गीकार गरेर अघि बढ़िरहेको अनि मुख्यमन्त्री तामाङको नेतृत्वमा सिक्किममा अहिले प्रजातन्त्र फस्टाएर गइरहेको पनि दावी गरे। सिक्किमले यस्तो नेता पाउनु गर्वको विषय रहेको बताउँदै मुख्यमन्त्री तामाङप्रति सबैले गर्व गर्नुपर्ने बताए।

About Author

Advertisement