गान्तोक: मिशन इन्द्रधनुष ५.० कार्यान्वयनलाई लिएर आज राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा टाशीलिङ सचिवालयमा स्टेट स्टेरिङ कमिटीको एक बैठक सम्पन्न भयो। यस सभा आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य राज्यमा वर्तमान परिपेक्ष्यमा नानीहरू र गर्ववती महिलाहरूलाई खोपको स्थितिबारे समीक्षा गर्दै राज्यको आवश्यकता अनुसार इन्द्रधनुष मिशन ५.० लाई कार्यन्वयबारे जानकारी लिनु रहेको थियो। भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पहलमा इन्द्रधनुष ५.० शुरू गरिएको हो भने यसको मुख्य उद्देश्य हेपाटाइटिस-बी, रोटा भाइरस, दादुरा, पोलियो, निमोनिया, रुबेला आदि जस्ता रोगबाट नानीहरू साथै गर्ववती महिलालाई सुरक्षित राख्नु हो।

राज्यको ६ वटा जिल्लामा नै यो लागु गरिने छ भने विशेष गरेर पहिलो खोप लगाउन नसकेका र छोडिका नवजात शिशु र गर्भवती महिलाहरूलाई नियमित खोप र बुस्टर डोजले संरक्षण गर्नसक्ने धारणा रहेको छ। यो कार्यक्रम आगामी ७ अगस्तदेखि १४ अक्टोबर २०२३ सम्म तीन चरणमा गरेर लगाइने छ, जस्तै ७-१२ अगस्त, ११-१६ सेप्टेम्बर र ९-१४ अक्टोबर मिति तय गरिएको छ।