४ जुलाईः बिमार राजु छेत्रीको उपचारमा सहयोगको हात बढ़ाउने लक्ष्य लिएर सिलगढ़ी युनाइटेड एफसीको तत्त्वावधानमा आयोजित समर फूटसल च्याम्पियनशीप २०२२-को ओपन वर्गमा नेताजी युथ क्लब (सेभोक) च्याम्पियन भयो। स्थानीय वन् शट् फूटसल एरेनामा आइतवार भएको ओपन वर्गको फाइनलमा एनवाईसी-ले काखिम एफसी (प्रधाननगर)-लाई ५-४-ले पराजित गऱ्यो।

च्याम्पियन एनवाईसी-का बुस्केटलाई प्लेयर अव् द म्याच अनि आमिर लामालाई प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो भने बेस्ट गोलकीपरको ट्रफी काखिम एफसीका प्रतीक अग्रवालले जिते। ओपन वर्गमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १५ हजार अनि रनर अप् हुने टीमलाई ट्रफीको साथमा ८ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै भेटरन वर्गको फाइनलमा प्रधाननगर भेटरनले सुकना भेटरनलाई ५-४-ले पराजित गऱ्यो।

च्याम्पियन प्रधाननगर भेटरनका सुरज थापाले प्लेयर अव् द म्याच, कार्तिक चन्दले बेस्ट गोलकीपर र सन्दीप छेत्रीले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते। दुवै टीमलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो। यसरी नै प्रदर्शनी म्याचमा भाइचुङ भूटियाको अगुवाईमा रहने सिक्किम स्टार्सले मनजीत सिंहको अगुवाईमा रहने नर्थ बेंगल स्टार्सलाई पराजित गऱ्यो।
