खरसाङ: मणिपुर घटनाको विरोध गर्दै आज खरसाङमा शान्ति र एकताको लागि ऐक्यबध्दता पदयात्रा नाम दिएर रैली निकालिएको छ। उक्त शान्ति रैली खरसाङको सन्त जोहन ब्रजम्यान्स क्याथोलिक वेलफेयर एसोसिएशन सन्त मेरिज र सन्त पावल एपोस्टल दुवैको संयोजकत्वमा खरसाङको अल्पसंख्यक समुदायको विभिन्न संघ संस्थाहरू, विद्यालयहरू र विद्यार्थहरूका सहभागितामा सम्पन्न भएको छ। रैलीमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए। उक्त शान्ति रैली खरसाङको टुरिस्ट लजदेखि शुरु भएर हिल कार्ट रोड भएर खरसाङ बजारबाट मोटर स्ट्याण्ड हुँदै पंखाबारी रोड भएर खरसाङको महकुमा शासक कार्यालयसम्म अयोजना गरिएको छ। यसावधि खरसाङको रेलवे स्टेशन परिसरमा मणिपुर घटनामा ज्यान गुमाउने १४२ जनालाई श्रध्दाञ्जली अर्पण गरिएको छ। यस अवसरमा विभिन्न चर्च, विद्यालयहरूका फादर र सिस्टरहरूले धुप र मोमबत्ती बालेर श्रध्दाञ्जली अर्पण गरिएको छ।

उक्त रैली महकुमा शासक कार्यालयसम्म पुगेर मणिपुर घटनाको विषयमा खरसाङको महकुमा शासकलाई ज्ञापन सुम्पने कार्य गरिएको छ। उक्त रैलीमा मानिसहरू र विद्यार्थीहरूले विभिन्न प्लाकार्डहरू लिएर रैलीमा सहभागिता जनाएका थिए। उक्त रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सन्त जोहन ब्रजम्यान क्याथोलिक वेलफेयर एसोसिएशनको सचिव एंव रैली आयोजन समितिको संयोजक प्रजेस लेप्चाले यो शान्ति रैली मणिपुरमा भएको घटनाको विरोधमा सबैलाई समेटेर निकालिएको हो भनी बताए। उनले यो रैली अवधि खरसाङको रेलवे परिसरमा मणिपुर घटनामा मारिएका १४२ जनाको सम्झनामा श्रध्दाञ्जली अर्पण गर्दै १४२ वटा मोमबत्ती बालिएको पनि बताएका छन्। लेप्चाले यो रैली टुरिस्ट लजदेखि शुरु भएर बजार हुँदै खरसाङ महकुमा शासकको कार्यालयसम्म पुगेर मणिपुर घटना विषयमा महकुमा शासकलाई ज्ञापन दिइएको बताएका छन्। उनले एक प्रश्नको उत्तरमा भने, ‘हामीले महकुमा शासकलाई चारवटा मुख्य उद्देश्यको साथमा ज्ञापन दिने कार्य गरेका छौं।

उक्त ज्ञापनमा मणिपुरमा संवैधानिक अधिकार असफल भएकोले झट्टै यसलाई पुनर्स्थापना गरिनु पर्ने, नानीहरूका शिक्षा व्यवस्था पुन: सुचारू हुनु पर्ने, अल्पसंख्यकहरू र महिलाहरूमाथि भएको अमानवीय घटना र अत्यचारको अन्त्य हुनु पर्ने साथै मणिपुर घटनाको झट्टै न्यायिक जाँच भएको होस्।’ प्रजेस लेप्चाले एक प्रश्नको उत्तर दिन्दै भने,’झट्टै मणिपुर घटनाको समस्या समाधान भएको होस् अनि न्यायिक जाँच भएप मणिपुरमा शान्ति स्थापना होस् भनी हामी चाहान्छौं।’