तेस्रो वनडे म्याचसहित सीरिज जित्यो भारतले

IMG-20230802-WA0148.jpg

२ अगस्तः भारतले त्रिनिदादको ब्रायन लारा स्टेडियममा खेलिएको तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक वेष्ट इण्डिजलाई सजिलै २०० रनले पराजित गऱ्यो। यस एकतर्फी जीतको साथ भारतले तीनवटा म्याचको वनडे सीरीज पनि २-१-ले जित्यो। म्याचमा भारतले पहिला ब्याटिंग गर्दै शुभमन गिल (८५), इशान किशन (७७), कप्तान हार्दिक पाण्ड्या (अविजित ७०) र सञ्जु सेमसन (५१)-को अर्द्धशतकीय ईनिंग्सको सहायताले ५० ओभरमा ५ विकेट गुमाएर ३५१ रनको विशाल स्कोर बनायो। जवाफमा भारतीय टीमको विध्वंशी बलिंग अघि वेष्ट इण्डिजको टीम ३५.३ ओभरमा केवल १५१ रन बनाएर अलआउट भयो। भारत र वेष्ट इण्डिजबीच अब पाँचवटा टी२० म्याचको सीरीज खेलिनेछ।

लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजले शुरूदेखि नै समस्यामा पऱ्यो। भारतीय बलरहरूले पहिलो ओभरदेखि नै विकेट हासिल गरी आफ्नो टीमलाई एकतर्फी जीत दिलाए। विशेषगरी युवा मुकेश कुमारले आफ्नो पहिलो स्पेलमै ३ विकेट हासिल गरी विपक्षी टीमलाई ब्याकफूटमा ठेले। त्यसपछि रहलपहल काम शार्दुल ठाकुर र स्पिनर कुलदीप यादवले पूरा गरे। शीर्ष क्रममा ब्रेण्डन किंग (शून्य), काइल मेयर्स (४), कप्तान शे होप (५), केसी कार्टी (६) र शिमरोन हेटमायर (४) चरम असफल हुँदा भारतको काम सजिलो भयो। एक समय त केवल ८८ रनमा ८ विकेटको पतन भइसकेको थियो। त्यसपछि तल्लो क्रममा गुदाकेश मोतीले ३९ र अल्जारी जोसेफले २६ रन बनाएर आयोजक टीमको सम्मान बचाए। यी दुईलाई छोड़ेर शीर्ष क्रममा एलिक अथानाजेले ३२ रनको योगदान दिए। भारतीय बलरहरूमा शार्दुल ठाकुरले सर्वाधिक ४ विकेट लिए। यसबाहेक मुकेश कुमारले ३ र स्पिनर कुलदीप यादवले २ विकेट हासिल गरे। जयदेव उनादकटले पनि १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतलाई किशन र गिलको ओपनिंग जोड़ीले असाधारण शुरुवात दिलायो। यी दुईले पहिलो विकेटको निम्ति ११८ बलमा १४३ रनको पार्टनरशीप गरे। इशान किशनले सीरीजमा लगातार तेस्रो अर्द्धशतक बनाए। उनले ६४ बल खेलेर ८ वटा चौका र ३ वटा छक्काको साथ ७७ रन बनाए। भारतले किशन र रुतुराज गायकवाड़ (८)-लाई लगातार अन्तरालमा गुमायो अनि एक समय स्कोर २ विकेटमा १५४ रन रहेको थियो। त्यहाँबाट गिलले सेमसनसँग मिलेर ६९ रन जोड़े। टी२० प्रारूपको मिजासमा ब्याटिंग गर्ने सेमसनले ४१ बल खेलेर ४ वटा छक्का र २ वटा चौकाको साथ ५१ रन बनाए। भारतले सेमसन र गिललाई लगातार अन्तरालमा गुमायो। गिलले ११ वटा चौकाको साथ ९२ बलमा ८५ रन बनाए। त्यसपछि कप्तान हार्दिक पाण्ड्याले सूर्यकुमार यादव र रविन्द्र जडेजा (अविजित ८)-सँग मिलेर स्कोरलाई ३५१ सम्म पुऱ्याए। हार्दिकले ५ वटा छक्का र ४ वटा चौकाको साथ ५२ बल खेलेर अविजित ७० रन बनाए। यसरी सूर्यकुमारले ३० बलमा ३५ रन (२ वटा छक्का, २ वटा चौका)-को योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा रोमारियो शेफर्डले २ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement