गान्तोकः नाम्चीको कामराङ सरकारी महाविद्यालयको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष स्व. पदम गुरूङको मृत्युको रहस्य समाधान हुनुको साटो अझै गहरिॅंदै गइरहेको छ। यद्यपि, राज्य सरकारद्वारा गठित एक सदस्यीय न्यायिक जॉंच आयोगको यस घटनाको सम्बन्धमा जॉंच चलिरहेको छ। यसबिच स्व. गुरूङका परिवारहरूले पुलिस प्रशासनको कारबाहीमाथि असन्तोष व्यक्त गरेका छन्। पदम गुरूङको परिवारका सदस्यहरूले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा विशेष गरि पुलिस प्रशासनको कारबाहीमाथि असन्तोष व्यक्त गर्दै गम्भीर आरोपहरू लगाएका छन्। उनीहरूले पुलिस प्रशासनमाथि स्व. गुरूङको मृत्युको रहस्य समाधान गर्नुको साटो प्रमाणहरू दबाइदिने र दबाउ दिने काम गरिरहेको आरोप लगाएका छन्। उल्लेखनीय छ, पदम गुरूङको मृत्युलाई लिएर तीनजना कथित साक्षीहरूले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै घटना भएको दिन आफुहरू त्यहॉं उपस्थित रहेको दाबी गरेका छन्। उनीहरूले स्व. गुरूङमाथि हात लगाउने व्यक्तिको नाम सार्वजनिक गर्दै गुरूङको हत्या नै भएको दाबी गरेका छन्।
पत्रकार सम्मेलनमा स्व. गुरूङका दाजुले सामाजिक सञ्जालमा भिडियो जारी गर्ने तीन साक्षी मध्ये एककी आमासॅंग फोन गरेर उनीहरूमाथि भइरहेको घटनाको खुलासा गराए। साक्षीकी आमाले उनीहरूमाथि दबाउ दिने काम भइरहेको र उनकी छोरीले दिएको बयान गलत हो भन्न दबाउ आइरहेको दाबी गरिन्। उनले आफुहरू सत्यको साथमा रहेको र स्व. गुरूङले न्याय पाउन् भन्ने पक्षमा रहेको बताइन्। उनले कसैको दबाउमा आएर छोरीले दिएको बयानलाई झूटो हो भनेर बयान नदिने बताइन्। पदम गुरूङका काकाले सामाजिक सञ्जालमा भिडियो जारी गरेर बयान दिने तीनजनालाई सलाम गरे। अर्कोतिर, उनले जति नै प्रमाणहरू खोजेर ल्याउॅंदा पनि पुलिसले ढाकछोप गरिदिने काम गरिरहेको आरोप लगाए। उनले न्याय माग्न कहॉं जानु पर्ने भन्दै पुलिस प्रशासनलाई राम्ररी छानबिन गरिदिन अपील गरे।
पदम गुरूङका दाजुले पुलिस प्रशासनबाट आफुहरूको भरोसा उठिसकेको बताए। उनले हामी प्रमाणहरू लिएर पुलिस थाना जान सक्दैनौ, कारण पुलिसले प्रमाणहरू दबाउने काम गरिरहेको छ भन्दै गम्भीर आरोप लगाए। पुलिस प्रशासनबाट न्याय पाउन सकिॅंदैन भन्दै पुलिसले कथित अपराधीलाई बचाउने काम गरिरहेको आरोप लगाए। उनले सरकारको ध्यान आकर्षित गर्दै स्व. पदम गुरूङको निम्ति न्यायको गुहार लगाए।









