खरसाङ: आफ्नै गाउँ ठाउँमै रहेर रोजगारी गर्न सकिन्छ अनि आफ्नोमा केही गर्छु भन्ने सिप साथै मेहनत र परिश्रम छ भने गाउँ घरमै रहेर पनि केही गरेर धेरै आय आर्जन गर्न सकिन्छ भन्ने उदाहरण हुन् बुनु शर्मा अनि उनका दाजु भाइहरू। खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको कुन्ती डाँड़ा – बञ्जरे डाँड़ामा पिता बर्मलाल शर्मा र माता धनमाया शर्माका छोराहरू मिलेर दूग्ध व्यवसाय शुरु गरेका छन्। एकै घरको पाँचजना दाजु भाइहरू मिलेर आफ्नै जमीनमा गाई पालन गरेर दुग्ध व्यवसाय शुरु गरेका छन्। आफ्नै जमीनमा दूग्ध व्यवसाय शुरु गरेर मासिक रूपमा लाख रुपियाँसम्मको आमदानी गरिरहेका छन्। पाँचजना दाजु भाईहरूले केही लगानी गरेर २०२० देखि आफ्नै ठाउँंमा ३ वटा दुहुना गाईबाट व्यवसाय शुरु गरेर मासिक रूपमा गाईको संख्या बढ़ाउँदै अहिले 9 वटा दुहुना गाई लगायत जम्मा ११ वटा गाईहरू र बच्चाहरू उनीहरूका गोठमा रहेका छन्। पाँचजनामा बुनु शर्मा एकजना कवि – साहित्यकार हुन् जसले अहिलेसम्म ३-४ वटा कृतिहरू प्रकाशित गरिसकेका छन्। अहिले उनी आफ्नै ठाउँमा गाई र पालन र दूग्ध व्यवसाय गरेर रोजगारको बाटो असल प्रकारले निकालेका छन्। उनी आफ्नै दूध बिक्री पुग्छन् अनि कवि साहित्यकार भएर पनि कुनै लाजबिना नै गाई पालन र दूध बिक्री गरेर एक उदाहरण बनेका छन्। उनीसितै उनका दाजुहरू बलराम शर्मा, रुपेस शर्मा, गोबिन्द शर्मा र भाइ अनिल शर्मा यस व्यवसायमा लागिपरेका छन्। अहिले दैनिक रूपमा 9 वटा दुहुना गाईबाट ७० देखि ७२ लिटर दूध निकाल्ने गरेका छन् भने एक लिटरको ५० देखि ६० रूपियाँमा बिक्री गर्ने गरेको बुनु शर्मा बताउँछन्। उनले दूध दैनिक रूपमा सिटोङबाट मंग्पु र यसको वरिपरिका क्षेत्रहरू रेशप बजार, दिपक टोल, रम्बी, एनएचपीसीतिर बिक्रीको लागि लाने गरेको बताएका छन्। बुनु शर्मा र उनका दाजु भाइहरूले आफ्नै ठाउँमा केही गर्ने सोच राखेर केही रुपियाँ लगानी गरेर तीनवटा गाईबाट शुरु गरेको अनि अहिले आएर दूग्ध व्यवसाय नै बनेको छ। अहिले आएर आफु धेरै वर्ष बाहिर बसेर रोजगारको लागि काम गरेकोमा पछूतो लागेको बताएका छन्। अहिले आएर आफ्नै गाउँ घरमा रहेर यसरी गाई पालन र दूग्ध व्यवसाय गर्न खूब राम्रो लागेको बताएका छन्। गाइहरूका लागि एक भारी घाँस जसले ल्याईदिन्छ ७० रूपियाँ दिने गरेको तर गाईको गोठमा काम गर्न भने कसैलाई नराखेर आफैहरूले मिलेर काम गर्ने गरेको बताएका छन्। लम्पी भाइसको समय कृषक कल्याण संगठनको अध्यक्ष विष्णु छेत्रीको सुझावमा पहिलेबाटै गाईहरूलाई भ्याक्सिन लगाएकोले केही नभएको पनि बताएका छन्। सिटोङ एक ग्राम पञ्चायतमा यसरी पाँचजना दाजु भाइहरू मिलेर गरिरहेका गाई पालन र दूग्ध व्यवसायको लागि कान्छा भाइ अहिले यसै दूग्ध व्यवसाय विषयमा पढ्नलाई आफ्नै खर्चमा हरियाणाको हिसारमा दुई महिनाको पढ़ाई सकेर प्राक्टिकलको लागि राजस्थानमा बाबा रामदेवको गौशाला संस्थानमा हालमा रहेको अनि केही दिनमा दिल्ली आएर त्यहाँ अध्ययन गर्ने जानकारी गराएका छन्। पाँच भाइ मिलेर गाई पालन साथै दूग्ध व्यवसायको लागि दूध बिक्री गर्नलाई एउटा गाड़ी र स्कुटीहरू राखेका छन् जसबाट दैनिक दूध बिक्री गर्नलाई प्रयोग गरिरहेका छन्। पाँचजना छोराहरूले गरिरहेको गाई पालन आफ्नो बाजेको समयदेखि नै गरिरहेको र अहिले झनै व्यवसायिक ढंगमा गरिरहेकोमा पिता बर्मलाल शर्मा खुशी रहेका छन्। अहिले पाँचैजनाले गाउँमा रोजगारीको राम्रो उदाहरण प्रस्तुत गरेका छन्। आफ्नै गाउँ ठाउँमा रहेर मेहनत र परिश्रमले केही गर्न सकुन्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गरेका छन्।








