खरसाङ: नव सांस्कृतिक अभियान, लाटपञ्चरको तत्त्वावधानमा लाटपञ्चर कुलैनबारीको धोबीधुरा समाज भवनमा २०९औं भानु स्मरण दिवस पालनका साथै लिस्नु पत्रिका तेस्रो अङ्कको लोकार्पण गरियो। नव सांस्कृतिक अभियानका सभापति एमके गुरुङले अध्यक्षता गरेका समारोहमा मुख्य अतिथिको रूपमा लिस्नु प्रथम अङ्कका चार सम्पादकहरूमध्ये एक एंव वरिष्ठ साहित्यकार कालूसिंह रनपहेंली उपस्थित थिए। विशिष्ठ आतिथि अनि विशेष अतिथिका रूपमा कवि राजा पुनियानी, कवि सुरज रोसुरी, वरिष्ठ व्यक्तित्व टीबी.मुखिया, साहित्यकार चर्चिल सुब्बा, पूर्व पार्षद विनोद मोक्तान, लेखक-गीतकार एलबी थापा, केएन एकादेमी शेल्पूका निर्देशक महेन्द्र थापा, कवि किरण ब्लोन, लिस्नुका पूर्व सम्पादक किशोर चामलिङकी धर्मपत्नी श्रीमती अन्तिका चामलिङ, लिस्नु परिवारका पूर्व सदस्य हर्क मोक्तानकी धर्मपत्नी धनलच्छी तामङ आदि उपस्थित थिए। बहुमुखी प्रतिभाका धनी शिक्षक विनय रसाइली अनि लाटपञ्चरका प्रबुद्ध साहित्यकार डीबी कार्कीद्वारा सञ्चालन गरिएको समारोहको प्रथममा भानुको तस्वीरमा समारोह अध्यक्ष, मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्ज्वलन अनि खदा अर्पण गरियो। समारोहमा लिस्नु अनि अभियानका सक्रिय सदस्य कवि विराम चामलिङद्वारा स्वागत भाषण राखिएको थियो। कार्यक्रममा प्रतिष्ठित साहित्यकार डीबीकार्कीले ‘भारतमा भानु जयन्ती एक भव्य संस्कृतिको आरम्भ’ विषयमाथि सारगर्भित वार्ता प्रस्तुत गरे। उनले दार्जीलिङ्को चौरस्तामा खडा गरिएको भानु सालिगको ऐतिहासिक तथ्यहरूसित धेरै जानकारीमूलक कुराहरू राखे। उनले लिस्नुका पूर्व सम्पादक कुमार भाइ पौड्यालले पठाएका पत्र पनि पठन गरेर सुनाए। ‘लिस्नु’ तेस्रो अङ्कका वर्तमान सम्पादक प्रतिष्ठित कवि साजन मोक्तान बेहोशीले सम्पादकको पक्षमा आफ्ना कुराहरू राखे। यस अवसरमा कविता वाचन र गीतिको प्रस्तुतिहरूले कार्यक्रमको शोभा बढाएको थियो। कविता वाचनमा चर्चित कवि राजा पुनियानी र चर्चित कवि सुरज रोसुरी, प्रतिष्ठित कवि डिकु मुखिया, श्रोताप्रिय कवि मिलन लामा रोगीसित सर्जक दिवाकर गुरूङ, प्रवीणता भुजेल आदिले कविताहरू वाचन गरेका थिए। यस अवसरमा गणेश गुरुङ, शरण गुरुङ, हीरालाल रनपहेंली आदिले मीठा गीतहरू गाएर समारोहलाई सङ्गीतमय पनि बनाएका थिए। समारोहमा हालै कालेबुङबाट भाइचन्द स्मृति पुरस्कारले विभुषित कवि राजा पुनियानी अनि लाटपञ्चरका दुई होनहार प्रतिभाहरू श्रेया तामङ र सारिका छेत्रीलाई नव सांस्कृतिक अभियानका अध्यक्षका बाहुलीबाट खदा पहिर्याएर बधाई टक्राइयो। कवि राजा पुनियानीलाई अभियानको तर्फबाट छुट्टै हिसाबले सम्बर्द्धना जनाइने कुरो पनि बताइयो। यस अवसरमा समारोह अध्यक्ष, मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूद्वारा लिस्नु तेस्रो अङ्क लोकार्पण गरियो। पत्रिका लोकार्पण भएको घोषणा कार्यकारी सम्पादक प्रबुद्ध साहित्यकार डीबी कार्कीले गरे। समारोहमा लाटपञ्चरका अति नै कर्मठ व्यक्तित्व, नव सांस्कृतिक अभियान एवं समारोहका अध्यक्ष श्रीमान एम.के. गुरुङले आफ्नो सम्भाषणमा नव सांस्कृतिक अभियान, लाटपञ्चरका क्रिया कलापहरूमाथि प्रकाश पार्दै लिस्नुलाई तेस्रो अङ्कसम्म प्रकाशनमा ल्याई लोकार्पण गर्न सकेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए। अध्यक्षले “लाटपञ्चार” शब्दमाथि मननीय कुरा बोलिरहेका थिए। मुख्य अतिथि पूर्व सम्पादक युग्मककार कालूसिंह रनपहेंलीले आफूलाई लाटपञ्चरले गरेको मायाको निम्ति धन्यवाद प्रकट गरे। उनले लिस्नुको पहिलो अङ्कका सम्पादकको हैसियतमा दोस्रो अङकका सम्पादक श्री एम.के. गुरूङ अनि तेस्रो अङकका वर्तमान सम्पादक कवि साजन मोक्तान बेहोशीलाई खदा पहिर्याएर धन्यवाद ज्ञापन गर्दै सम्मान जनाए। उसै गरी हालै कालेबुङबाट गरिमामय भाइचन्द स्मृति पुरस्कार अनि दार्जीलिङबाट भानु पुरस्कार प्राप्त गरेका कवि राजा पुनियानी अनि साहित्यकार चर्चिल सुब्बालाई खदा पहिर्याएर बधाई जनाए। आफ्नो सम्भाषणमा उनले भानुभक्तका कृति कर्महरूको उल्लेख गर्दै उनको लेखनमा रहेको सरलता, सरसता, मौलिकता अनि नेपालीपनको सुगन्धबारे बताए भने आजभन्दा ४९ वर्षअघि प्रकाशित लिस्नुको पहिलो अङ्कलाई लिएर संस्मरणात्मक टिप्पणीहरू प्रस्तुत गरेका थिए। उनले प्रथम अङ्कका सम्पादकहरूमा किशोर चामलिङ, कुमार भाइ पौड्याल, नीम गुरुङ अनि आफू रहेका बताउँदै उसबेलाका सम्झनाहरू साझा गरिरहेका थिए। समारोहमा लाटपञ्चरका मान्य अनि सामाजिक-साहित्यिक-कला-सञ्चार आदि क्षेत्रका सक्रीय कार्यकर्ताहरूमा लिस्नुको निम्ति दिलोज्यान दिएर खट्ने कवि रञ्जित देवान जसले घर घर गएर पत्रिका प्रकाशनको निम्ति अर्थ सङ्ग्रह गरेका थिए, श्रीमान बुद्ध सुब्बा, शिशिर प्रधान, बिराम चाम्लिङ, जितेन्द्र बस्नेत, सञ्जय मोक्तान, सञ्जय राई, सौगात राई, प्रफुल्ल लामा, उज्ज्वल तामङ, सन्तराज राई, विकाश राई, नवीन चामलिङ, चन्द्रपाल सुब्बा, मन्जित राई, प्रणेश राई, परिना तामङ, पीबी. बराइली, अशोक छेत्री, देवकुमार गुरूङ, रितु गुरूङ,मञ्जु छेत्री, प्रज्ञान छेत्री, कमल छेत्री, सबेन प्रधानसितै लाटपञ्चर लगायत वरिपरि क्षेत्रका धेरै सर्जक, साहित्यकार अनि साहित्यानुरागीहरूको विशेष उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।









