गान्तोक: एसकेएम पार्टीलाई पूर्व मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ आरबी सुब्बाले समर्थन जनाएका छन्। तिनी अब चाँड़ै एसकेएम पार्टीमा सामेल हुने बताइएको छ। पूर्व मन्त्री सुब्बा आज राजधानीको सम्मान भवनमा एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा आयोजित एक बैठकमा सहभागी बने। बैठकमा सुब्बाका ११५ जना सहयोगी पनि उपस्थित रहेको जानकारी एसकेएम पार्टीले प्रेस विज्ञप्तिमा दिएको छ। बैठकमा सुब्बालगायत उपस्थित अन्यहरूले पनि एसकेएम पार्टीलाई समर्थन जनाए। उनले चॉंड़ै एसकेएम पार्टीमा सामेल हुने जानकारी पनि दिए। बैठकमा बोल्दै सुब्बाले एसकेएम पार्टी तथा सरकारले तीन वर्षको छोटो अवधिमा गरेका विभिन्न उल्लेखनीय कार्यहरूबाट प्रभावित बनेर आफु यस पार्टीमा आबद्ध हुन चाहेको बताए। उनले एसकेएम पार्टीको आगामी कार्यक्रम, कार्ययोजना र रणनीति सम्बन्धमा एक बैठक आयोजन गरेर छलफल गर्ने बताए। उनले पूर्वको सरकारले २५ वर्षमा गर्न नसकेका कामहरू एसकेएम सरकारले तीन वर्षको अवधिमा गरेको देख्दा सरकारले चाहेको खण्डमा गर्न सकिॅंदो रहेछ भन्ने एसकेएम सरकारले प्रमाणित गरेको बताए।
उनले आगामी दिनहरूमा आफुलगायत आफ्नो टोलीका सम्पूर्ण सहयोगी र मित्रहरूलाई पनि एसकेएममा सामेल गराएर पार्टीलाई बलियो बनाउने बताए। वरिष्ठ राजनीतिज्ञ सुब्बाले आगामी २०२४ मा हुने चुनाउमा ज्यान दिएर एसकेएम पार्टी र पार्टी अध्यक्षलाई सहयोग पुऱ्याएर सरकारमा यथावत राख्ने दिशामा काम गर्ने वचनबद्धता पनि व्यक्त गरे। एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री गोलेले आरबी सुब्बालाई पार्टीमा स्वागत जनाउॅंदै भने, ‘हामी शुन्य शत्रुको सिद्धान्तमा रहेर काम गर्ने भएको हुनाले सबै एक भएर सिक्किमको सुरक्षामा लागि परौं भन्ने हाम्रो उद्देश्य हो। आज पूर्व मन्त्री एवं वरिष्ठ राजनीतिक श्री आरबी सुब्बाज्युले एसकेएम पार्टीमा आबद्ध भएर सिक्किम हितमा काम गर्ने जुन मनसाय लिनुभयो त्यसको लागि हामी वहॉंलाई हार्दिक स्वागत गर्दछौ।’ मुख्यमन्त्रीले सबै एक भएर सिक्किम र सिक्किमेलीको भावी सुरक्षा अनि दीर्घमियादी विकासक्रममा हातेमालो गरौं भनी आह्वान गरेका छन्। उनले आगामी १० अगस्तमा आयोजन गरिने जन उन्मुक्ति दिवसको अवसरमा यदि जनसमावेश कार्यक्रमको निम्ति समय मिल्यो भने वृहत रूपमा पार्टीमा समावेश हुन चाहनेहरूलाई स्वागत गर्ने बताए। बैठकमा पार्टी प्रवक्ता एवं मुख्यमन्त्रीका रानीतिक सचिव जेकब खालिङले पनि सम्बोधन गरेको थियो।