१ अगस्तः भारतीय क्रिकेट टीम अगस्तमा तीनवटा टी२० म्याचको सीरीज खेल्न आयरल्याण्ड यात्रामा जानेछ। यस यात्राको निम्ति भारतीय टीमको घोषणा गरिएको छ, जसमा प्रमुख खेलाड़ीहरूलाई विश्राम दिइएको छ। आयरल्याण्ड विरुद्ध टी२० सीरीजको साथ भारतीय टीमका प्रमुख पेस बलर जसप्रीत बुमराह पनि प्रतिस्पर्धी क्रिकेटमा फर्किनेछन्। उनलाई आयरल्याण्ड जाने टीमको कप्तान बनाइएको छ। युवा रुतुराज गायकवाड़ टीमका उपकप्तान हुनेछन्। तीनवटा टी२० म्याचको सीरीजको शुरुवात १८ अगस्तमा हुनेछ। त्यसपछि रहल दुईवटा म्याच २० र २३ अगस्तमा खेलिनेछ।
बुमराहले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट टीमको कप्तानी गर्नेछन्। यसअघि उनले टेस्ट म्याचमा चाहिँ कप्तानी गरेका थिए। बुमराहले लगभग ११ महिना अघि गत वर्ष सेप्टेम्बरमा भारतको निम्ति अन्तिम म्याच खेलेका थिए। त्यसपछि चोटले उनलाई सताएको थियो अनि अहिले फिट भएर मैदानमा फर्किन तयार छन्। चोटले गर्दा नै उनी टी२० वर्ल्ड कप अनि पछिबाट आईपीएल खेल्नदेखि पनि चुकेका थिए।
बुमराहको साथमा चोटमुक्त अन्य एक पेस बलर प्रसिद्ध कृष्णा पनि टीममा फर्किएका छन्। उनले गत वर्ष अगस्तमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच खेलेका थिए। स्ट्रेस फ्र्याक्चरले गर्दा उनी लामो समयदेखि टीमबाट बाहिर थिए। यसको साथमा आयरल्याण्ड जाने टीममा यशस्वी जयसवाल र शिवम दुबेलाई स्थान प्राप्त भएको छ। एशियन गेम्सको निम्ति भारतीय टीममा सामेल दुबेले आईपीएलमा चेन्नई सुपर किंग्सको तर्फबाट असल प्रदर्शन गरेका थिए। आयरल्याण्ड जाने टीममा कुनै पनि प्रमुख खेलाड़ीलाई स्थान प्राप्त भएन। यसमा रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या, सूर्यकुमार यादव, ईशान किशन र शुभमन गिल सामेल छन्। विकेटकीपरको रूपमा सञ्जु सेमसनको साथमा जितेश शर्मा रहेका छन्। जितेशले आईपीएलमा पञ्जाब किंग्सको तर्फबाट फिनिशरको भूमिका निर्वाह गरेका थिए। यसको साथमा रिंकु सिंह र तिलक वर्मा पनि टीममा छन्।
आयरल्याण्ड जाने भारतीय टीम यसप्रकार छः जसप्रीत बुमराह (कप्तान), रुतुराज गायकवाड़ (उपकप्तान), यशस्वी जयसवाल, तिलक वर्मा, रिंकु सिंह, सञ्जु सेमसन (विकेटकीपर), जितेश शर्मा (विकेटकीपर), शिवम दुबे, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि विश्नोई, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह, मुकेश कुमार र आवेश खान।