सिलगढी: सिलगढी डाबग्राम-२ ग्रामपञ्चायत अन्तर्गत अवस्थित छोटाफाप्रीको सामाजिक संस्था सुनाखरी समाजद्वारा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिक स्थापना गरिने भएको छ। हिजो आइतवार आयोजित भानु स्मृति दिवस समारोहको मञ्चबाट छोटाफाप्रीमा स्वतन्त्रता सेनानी लामाको सालिक स्थापना गरिने कुराको घोषणा भएको छ। डब्ल्यु. बी. सी. एस. अधिकारी पदम सुनामको प्रमुख एवम् नाट्यभूषणको विशिष्ट आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम अध्यक्ष शङ्कर छेत्रीले सालिक स्थापना गरिने घोषणा गरेपछि त्यसलाई विशिष्ट अतिथि सी.के. श्रेष्ठले अनुमोदन गर्दै छोटाफाप्रीमा प्रतिमान सिंह लामाको सालिक स्थापना गर्ने परिकल्पनालाई ऐतिहासिक पहल बताए। सुनाखरी समाजको ब्यानरमा भएको उक्त २०९औँ भानु स्मृति दिवस कार्यक्रममा अतिथिका रूपमा किराती लिम्बू समाज,छोटाफाप्रीका सचिव मिलन सुब्बा, समाजसेवी कृष्ण लामा, कृष्णमाया मेमोरियल नेपाली उच्चतर माध्यमिक विद्यालयकी शिक्षिका नमिता परियार, खोलाचन्दफाप्री भानुभक्त पुस्तकालयका सचिव विकास तिम्सिना र सभापति परिमल थापा, सिलगढी सिख युथ फोरमका अध्ययक्ष गोल्डी सिंह,छोटाफाप्री प्राथमिक पाठशालाकी शिक्षिका कुसुम विश्वकर्मा आदि मञ्चासीन थिए। आयोजक समाजका सह-सचिव अनुप योञ्जनले सञ्चालन गरेका उक्त कार्यक्रममा साहित्यिक एवम् सांस्कृतिक प्रस्तुतिहरू समावेश रहेको थियो। समाजका सचिव दावा तामाङका स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रमको मुख्य आकर्षण स्थानीय मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइने कार्यक्रम रहेको थियो। जस अन्तर्गत नेहा छेत्री, आकृति छेत्री, यचना भुजेल अनि युएल छेत्रीलाई स्मृति चिन्हद्वारा सम्मानित गरिएको थियो भने क्षेत्रबाट माध्यमिक तहमा सर्वोच्च अङ्क ल्याउने विद्यार्थी नेहा छेत्रीलाई तेस्रो अनि याचना भुजेललाई चौथो कुसुम डोल्मा तामाङ स्मृति पुरस्कार प्रायोजक दावा तामाङ अनि सुनिता तामाङले प्रदान गरे। त्यसै क्रममा उच्च माध्यमिक तहमा उत्तीर्ण विद्यार्थीहरू नम्रता भुजेल ,सुनयना भुजेल ,चन्द्रकला शर्मा, दिपिका शर्मा, सिमरण शर्मा, सिया शाह, अनि राहाना छेत्रीलाई स्मृति चिन्ह प्रदान गरिएको थियो भने सोही समूहमा क्षेत्रबाट सर्वोच्च अङ्क ल्याउने नम्रता भुजेल अनि राहाना छेत्रीलाई दाता दावा तामाङ अनि सुनिता तामाङद्वारा प्रायोजित तेस्रो अनि चौथो नामग्याल दोर्जी तामाङ स्मृति पुस्कारले सम्मानित गरियो। यसै क्रममा यसै वर्षको माध्यमिक परीक्षामा उत्तर बङ्गालभरि अब्बल दर्जामा उत्तीर्ण हुने जया रायलाई देवान लामा, सुनिता लामा अनि परिवारद्वारा प्रायोजित प्रथम विष्णु कुमारी लामा, थिङ स्मृति पुरस्कार दिइयो। यसको साथै मनोविज्ञानमा सम्मानसहित स्नातक उत्तीर्ण स्थानीय योजना छेत्रीलाई पनि सम्वर्द्धना जनाइयो।
कार्यक्रमको दोस्रो चरणमा समाजसेवी कृष्ण लामा, गोल्डी सिंह, सुनिता तामाङ लगायत बालकलार निनोरिका भुटियालाई सम्वर्द्धना जनाइयो। सांस्कृतिक कार्यक्रम लगायत कविता पाठ तथा आवृत्ति आदिको प्रस्तुति रहेको उक्त कार्यक्रमलाई प्रमुख अतिथि पदम सुनाम र विशिष्ट अतिथि सी.के. श्रेष्ठले सम्बोधन गरे। सम्बोधनको क्रममा प्रमुख अतिथि सुनामले आगामी वर्षदेखि कृष्णबहादुर स्मृति पुरस्कार छोटाफाप्रीका मेधावी विद्यार्थीलाई सुनाखरी समाजको मञ्चबाट आफ्नो तर्फबाट दिइने घोषणा गर्दै भानुभक्त आचार्य व्यक्ति नरहेर ज्ञानका प्रतीक बनिसकेकाले सर्वत्र पूजा गरिने परम्परा रहिआएको विचार प्रकट गरे।सुनाखरी समाजका अध्यक्ष शङ्कर छेत्रीले स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिक छोटाफाप्रीमा स्थापना गरिने घोषणा गरे लगत्तै त्यसलाई अनुमोदन गर्दै विशिष्ट अतिथि सी.के.श्रेष्ठले भानुजयन्ती पालनाको औचित्यमाथि आफ्ना विचारहरू साझा गरे।विश्वका नेपाली भाषी भानुभक्तको नामसित भावनाले जडित रहिआएको बताउँदै श्रेष्ठले भने,” नेपालमा जन्मिएर भानुले भारतमा पहिला प्रसिद्धि कमाएका हुन्। हाम्रो आवश्यक्ताको निम्ति भानुभक्तको नाम आयो र त्यसलाई महिमामण्डित गरिहाल्यौँ र हाम्रो बनायौँ।” “भानुभक्त हाम्रा निम्ति युगपुरुष हुन्”,श्रेष्ठले थपे,” भानु र घाँसीको प्रेरणादायी कथालाई हामीले जीवनमा उतार्न सक्यौँ भने मात्रै भानु जयन्ती पालना सार्थक हुन्छ।” कार्यक्रममा सुनाखरी समाजका भूतपूर्व पदाधिकारीगण ,सदस्य सदस्यागण लगायत भाषा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो।