गान्तोकः एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियान अन्तर्गत निरन्तर सभाहरू भइरहेका छन्। यसै अभियानअन्तर्गत आज रिञ्चेनपोङ समष्टिको मङ्लबारे हाटघरमा वरिष्ठ उपाध्यक्ष डीबी थापाको अध्यक्षता रिञ्चेनपोङ समष्टिस्तरीय सभा सम्पन्न भयो।अध्यक्षीय सम्बोधनमा पूर्व मन्त्री डीबी थापाले भने, जनताले विगत चार वर्षदेखि हामीलाई दिएको विपक्षको भूमिका हामीले इमान्दारितासँग निर्वाह गरेका छौं, एसडीएफ पार्टी जनताको आवाज बनेको छ। एसकेएम सरकारमा सिक्किमको नोक्सान मात्र भएको बताउँदै थापाले सिक्किम बचाउने मुख्य कार्य एसडीएफ पार्टीले लिएको जनाए। सिक्किमको अस्तित्व र आफ्नो हक-अधिकारका लागि जनतालाई सचेत बनाउने महान काममा एसडीएफ पार्टी जुटिरहेको उनले बताए।
थापाले भने, जनताले आफ्नो मताधिकार प्रयोग गरी एसकेएम पार्टीलाई सत्तामा पुऱ्याए, तर एसकेएम सरकारले सिक्किमको नियम, कानुन, व्यवस्था सबै सबै भताभुङ्ग पारिदिएको छ। उनले अझ भने, सरकारले जनताको हितमा राम्रो काम गर्न सकेको छैन। आफ्ना बाचाहरू पूरा गर्न सकेन। यस सरकारको क्रियाकलाप सिक्किमको पक्षमा छैन, जनताको पक्षमा छैन। यसैकारणले जनताले एसकेएम सरकारलाई विश्वास गर्न छोडिसकेका छन्, थापाले दाबी गर्दै भने। पीएस गोले र एसकेएम सरकारले सिक्किमिज आइडेन्टि र पुराना कानुन तरलीकरण गरेको, समाप्त पारेको कालो धब्बा सिक्किमको इतिहासमा कहिल्यै मेटिने छैन भनी उनले बताए। युवाहरूलाई आह्वान गर्दै थापाले भने, युवाहरूको भविष्य एसडीएफ पार्टीमा सुरक्षित छ। सिक्किमलाई बाहिरका शक्तिहरूबाट बचाउन एसडीएफ पार्टीमा एकबद्ध भएर अघि आउन उनले युवाहरूलाई आग्रह गरे।

सभामा सम्बोधन राख्ने क्रममा एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री छिरिङवाङ्दी लेप्चाले सिक्किमिज भोटिया, लेप्चा र नेपालीको अस्तित्वलाई एसडीएफ पार्टी र नेता पवन चामलिङले २५ वर्ष सुरक्षित राखेको ठोकुवा गरे। तर फाइनेन्स एक्ट र अरू केन्द्रिय कानुन भित्राएर चार वर्षमा एसकेएम सरकारले सिक्किमिज आइडेन्टीलाई समाप्त पारे, ध्वस्त पारेको आरोप लगाए। उनले एसडीएफ पार्टीका नेता ट्रस्टेड र टेस्टेड नेता हुन् उनको नेतृत्वले सिक्किम र जनताको भलो हुने विश्वास दिलाए। २०२४-मा एसडीएफ पार्टीले सरकार गठन गर्ने लेप्चाले दाबी गरे। सभालाई पार्टीका विद्यार्थी नेता कर्म छुल्टिम भोटिया, युवा नेताहरू दिव्य कला शर्मा, रमेश किराँत, रविन तामाङ, अम्बर राई आदिले पनि सम्बोधन राखेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।