तीनधारेमा पाद्री गङ्गाप्रसाद प्रधान जयन्ती समारोह सम्पन्न

IMG-20230731-WA0347.jpg

पाद्रीको विभिन्न पाटाहरूमाथि शोध कार्य गर्नलाई अझैं बाँकी नै छ: डा. अमीर ठटाल

खरसाङ: तीनधारेको गोलाई पाखास्थित मित्र संघको अायोजनामा आदि पत्रकार एंव गोर्खा भाषाको पायोनियर पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता मित्र संघको पूर्व सचिव मदन कानुको अध्यक्षता र प्रमुख अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीकी आमा धनकुमारी छेत्री उपस्थित रहेकी थिइन्। कार्यक्रममा विशिष्ट अतिथि एंव वार्ताकारको रूपमा प्राध्यापक डा अमीर ठटाल उपस्थित रहेका थिए। ईशान्त विश्वकर्म र प्रेजिना मोक्तानले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण मार्थारानी राईले राखेकी थिइन् भने कार्यक्रमको औचित्य विषयमा मित्र संघको सभापति मसीह प्रकाश मोक्तानले वक्तव्य राखेका थिए। कार्यक्रममा स्वागत गीतको रूपमा पाद्री गङ्गाप्रसाद प्रधानद्वारा लिखित गीत ‘प्रभु अर्जी सुनिदेऊ गोर्खालीले मुक्ति पाउने ढोला खोलिदेऊ’ सन्त जोहन चर्चका युवा झुण्डद्वारा प्रस्तुत गरिएको थियो। कार्यक्रममा पन्नु लेप्चा, गीतकार सुकुमार बराईली, कवि मिलन प्रधान, सुवास बान्तावा, प्रयास प्रधान अादिले कविता, गीत पठन गरेका थिए भने बरूण रसाईली, सुजा तामाङ, राजेस सेवा, सतीश राई र शरण राईले मादले गीत र गीतहरू प्रस्तुत गरेका थिए।

त्यसरी नै नानी दिवांशी विश्वकर्मले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षिका उर्मिला लामाले पाद्री गंङ्गाप्रसाद प्रधानको जीवनी प्रस्तुत गरेका थिए। त्यसरी नै प्रमुख वार्ताकारको रूपमा उपस्थित डा अमीर ठटालले पाद्री गंङ्गाप्रसाद प्रधान विषयमा वार्ता प्रस्तुत गरेका थिए। उनले पाद्री गङ्गाप्रसाद प्रधानमा अद्वितीय शक्ति थिए भनी बताउँदै तेस्तो अद्वितीय शक्ति पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपायीमा पनि थिए भनी बताए। उनले पाद्रीको विभिन्न पाटाहरूमाथि शोध कार्य गर्नलाई अझैं बाँकी नै छ भनी बताउँदै पाद्री गङ्गाप्रसाद प्रधानको इसाई सेवा कार्य विषयमा मात्रै खोजी गरिए पनि शोध कार्य गर्न सकिन्छ भनी बताए।

यसै कार्यक्रममा ७० प्रतिशतभन्दा बेसी अंक ल्याएर उत्तीर्ण भएका तीनधारे गोलाई पाखाको मित्र संघ अन्तर्गत रहेका तीनजना विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाइएको छ। यस क्रममा उच्च माध्यमिक परीक्षामा उत्तीर्ण भएका मिक्मा डोल्मा तामाङ र दिपसिका नेवार अनि २०२२ को आईएससीमा उत्तीर्ण पन्नु लेप्चालाई मित्र संघको पक्षमा सम्बर्ध्दना जनाइएको छ। तीनधारेमा सम्पन्न पाद्री गङ्गाप्रसात प्रधानको जन्म जयन्ती विषयमा मित्र संघ गोलाई पाखाको सभापति मसीह प्रकाश मोक्तानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

Advertisement