काठमाडौं: नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्शन खुल्न थालेको छ। उनीहरु योजनावद्ध तरिकाले नेपालमा तस्करी, प्रविधिसम्बन्धी अपराधमा संलग्न पाइएका छन्। १८ जुलाईमा हङकङबाट एक सय केजी सुन तस्करी गरी नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा संगठित अपराधमा भइरहेको सक्रियताबारे तथ्य प्रमाणहरु खुल्न थालेको छ। ९ जुलाईमा भन्सार चेकप्वान्इट कटेपछि राजश्व अनुसन्धान विभागले ब्रेक सुमा लुकाई ल्याइएको सुन बरामद गरेको थियो। त्यसको भोलिपल्ट चिनियाँ नागरिक जीक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे।
जीक्वाङमाथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन्। आइतबार पक्राउ परेका उनको नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध रहेको खुलेको छ। चीनसँग निकट मानिने माओवादी नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुनसँग छिरिङको सम्बन्ध रहेको पाइएको छ। राजश्व अनुसन्धान विभागका एक अधिकृतले हिन्दुस्थान समाचारलाई चिनियाँ तस्कर गिरोहको राजनीतिक कनेक्शनबारे अनुसन्धान भइरहेको बताएको छ। समाजिक सञ्जालमा छिरिङले माओवादीका उपमहासचिव वर्षमान पुन र उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीसँग खाना खाइरहेको तस्वीर पत्ता लागेको छ। पुन चीनसँग बलियो सम्बन्ध रहेका माओवादी नेता हुन्।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको सम्बन्ध इलेक्ट्रोनिक चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने गिरोहसँग रहेको खुलेको छ। २०२२ को दिसम्बरमा भेपमा सुन लुकाएर ल्याउने गिरोहबारे खुलेपछि पुलिसले यसै वर्षको जुलाईमा केही व्यक्तिलाई पक्राउ गरेको छ। चिनियाँ नागरिक दाओजिन वाङ भेपबाट सुन तस्करी प्रकरणमा नौ केजी सुन छुटाउन सक्रिय रहे। उनले पूर्वसभामुख महरालाई लगाएर यो प्रकरणमा सुन र पक्राउ परेकाहरुलाई छुटाउन दबाब दिएका थिए। उनका छोरा राहुल महरा पनि यो घटनामा मुछिएका छन्। सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको संलग्नता नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने, एपमार्फत् अवैध असुलीमा पनि रहेको छ। २०२२ को जुलाईमा नेपालको ठमेलस्थित होटल भियनामा गैरकानूनी धन्दामा संलग्न चार चिनियाँ नागरिक पक्राउ परेका थिए। यो गिरोहमा दावा पनि थिए। तर, उनी फरार भए।
२०१७ मा काठमाडौंमा अनलाइन ग्याम्बलिङ र अश्लील भिडियो देखाएर रकम असुल्ने गिरोहका १२२ चिनियाँ खोजीमा परेका थिए। यो घटनामा अधिकांश चिनियाँ फरार भएका थिए। पक्राउ परेकाले नेपाल पुलिसलाई नै आक्रमण गरेका थिए। नेपाल पुलिसका एक उच्च अधिकारी चिनियाँ गिरोहलाई देशभित्र र बाहिरको समेत राजनीतिक संरक्षण प्राप्त भइरहेको बताउँछन्। उनीहरु योजनावद्ध रुपमा नेपालमा अपराधको जालो फैलाइरहेका छन्। विशेषगरी आर्थिक अपराधमा उनीहरुको संलग्नता बढिरहेको छ। नेपालमा संगठित अपराधमा चिनियाँ गिरोह नै लागेको छ। उनीहरु काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएर अपराध कार्यमा लागेको पत्ता लागेको छ। तर, राजनीतिक पहुँच र प्रभाव देखाएर पुलिस कारबाहीबाट जोगिने गरेका छन्। कतिपय घटनाको अनुसन्धान नै अगाडि बढ्न दिइदैन। -हिस