खरसाङ: खरसाङको गौरी शंकर निवासी शहीद विधान राईको अन्तिम संस्कार आज गरिएको छ। शहीद विधान राईको गौरी शंकरस्थित गाउँमा सैनिक सम्मानको साथमा उनलाई अन्तिम बिदाई दिइएको छ। विधान राईको परिवारका सदस्यहरूले उनलाई दागबत्ती दिएर अन्तिम बिदाई दिइएको छ। सेनाद्वारा शहीद विधान राईलाई श्रध्दाञ्जली अर्पण गर्दै सलामी दिइएको थियो भने राई परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो। खरसाङको वीर सैनिक शहीद विधान राईलाई अन्तिम श्रध्दाञ्जली अर्पण गर्नलाई मानिसहरूको भीड़ उपस्थित रहेको थियो। स्थानीय मानिसहरूसितै खरसाङ महकुमा शासक आईएएस एजाज अहमद, खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकार लगायत अन्यहरू उपस्थित रहेका थिए।
उल्लेख्य छ खरसाङको गौरी शंकर निवासी विधान राईले गत ३० जुनको बिहान मणिपुरमा आएको पैह्रोमा ज्यान गुमाएका थिए। उनको पार्थिव शरीर हिज हवाई मार्ग भएर बागडोगरा अनि त्यसपछि बेङ्गडुबीस्थित सैनिक छाउनीमा ल्याएर सैनिक सम्मानसहित श्रध्दाञ्जली अर्पण गरी घर ल्याइएको थियो। आज अन्तिम संस्कारको समय उपस्थित रहेका खरसाङ महकुमा शासक आईएएस एजाज अहमदले पत्रकारहरूसित कुराकानी गर्दै शहीद विधान राईको पार्थिव शरीर ल्याएको समय हिज घरमै पुगेर शोकित परिवारलाई शोक समवेदना प्रकट गरेको र आज पनि शहीद विधान राईको अन्तिम संस्कारमा पनि आफु उपस्थित भएर अन्तिम श्रध्दाञ्जली अर्पण गरेको बताएका छन्। उनले शहीदको परिवारलाई कुनै पनि प्रकारको प्रशासनिक सहयोग चाहिएको खण्डमा हामी सहयोग गर्न तयार रहेको तथा कुनै पनि प्रकारको सहयोगको लागि आफु सदैव तयार रहेको बताएका छन्। महकुमा शासक आईएएस एजाज अहमदले शहीद विधान राईको आत्मा शान्तिको लागि प्रार्थना गरेको तथा शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्। उनले आफु रोहिणी निवासी शहीद मिलन तामाङको पनि घरमै पुगेर श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारलाई भेटेर गहिरो शोक समवेदना प्रकट गरेको बताएका छन्।