सिलगढी: ज्वेलरी कम्पनीको नाममा मानिसहरूलाई लाखौँ रुपियाँ ठगेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गर्यो। यसरी पक्राउपछि सो आरोपीलाई आज अदालतमा पेश गर्यो। पुलिसले पक्राउ गरेका व्यक्ति दीपक साहा हुन्।उनी सिलगढीको ४७ नम्बर वार्ड पार्षदका आफन्त हुन्।सो कम्पनीमा काम गर्ने महिला एजेन्टहरूले आज अदालत परिसरमा विरोध प्रदर्शन गरे। स्मरण रहोस्, केही वर्ष अघि दीपक साहाले ज्वेलरी कम्पनी खोलेका थिए। जहाँ महिला एजेन्टहरूलाई नोकरीमा राखेर तिनीहरूको माध्यमद्वारा साधारण मानिसहरूबाट आफ्नो कम्पनीमा इन्भेस्ट गराउँथे। सिलगढीमा दीपक साहाको ज्वेलरी कम्पनीको दुईवटा ब्राञ्च थियो। तर तिनले अचानक दुवैवटा ब्राञ्च बन्द गरिदिए। यसपछि ग्राहकहरूले कम्पनीका एजेन्टहरूमाथि रुपियाँ फिर्ता माग्दै दबाउ दिनथालेपछि ती एजेन्टहरूले थानामा दीपक साहाविरुद्ध लिखित अभियोग दर्ता गरेका थिए। ४७ नम्बर वार्डका पार्षद अमर आनन्द दास दीपक साहाको मामा थिए। यसबारे थाहा पाएपछि हिजो पार्षद अमर आनन्द दासको घरअघि विरोध प्रदर्शन गरियो पुलिसले त्यहींबाट दीपक साहालाई हिरासतमा लिएर सोधखोज गरेपछि तिनलाई पक्राउ गरेको छ। दीपक साहालाई २०२२ मा पनि मालबजारमा धोखाधडी गरेको आरोपमा पुलिसले पक्राउ गरेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।