क्रिकेटबाट सन्न्यासको घोषणा गरी सबैलाई चकित पारे स्टुअर्ट ब्रडले

IMG-20230730-WA0183.jpg

३० जुलाईः ईंग्ल्याण्डका दिग्गज पेस बलर स्टुअर्ट ब्रडले अष्ट्रेलिया विरुद्ध एशेज सीरीजको बीचमा क्रिकेटबाट सन्न्यासको घोषणा गरी सबैलाई चकित पारे। अहिले उनी एशेज सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचमा खेलिरहेका छन्। ब्रडले तेस्रो दिनको खेल समाप्त भएपछि यो उनको अन्तिम म्याच हुने घोषणा गरे। उनले अब अन्तर्राष्ट्रिय मात्र नभएर घरेलु क्रिकेट पनि खेल्नेछैनन्। आफ्नो सटीक पेस बलिंग र बललाई स्विंग गराउने क्षमताले गर्दा चिनिने ३७ वर्षीय ब्रडले २००६-मा ईंग्ल्याण्डको निम्ति पदार्पण गरेका थिए। उनको अन्तर्राष्ट्रिय करियर लगभग १७ साल लामो रह्यो। उनले केही दिन अघि मात्र टेस्ट क्रिकेटमा आफ्नो ६०० विकेट पूरा गरेका थिए। यसबाहेक एशेजमा सर्वाधिक विकेट लिने मामिलामा उनी समग्रमा तेस्रो अनि ईंग्ल्याण्डको तर्फबाट पहिलो नम्बरमा रहेका छन्।
ब्रडले भने, भोलि या आइतवार मेरो क्रिकेट करियरको अन्तिम दिन हुनेछ। यो अद्भूत यात्रा रह्यो। नटिंघमशायर र ईंग्ल्याण्डको ब्याज लगाउनु मेरो निम्ति ठूलो सौभाग्य रह्यो। म अहिले पनि क्रिकेटलाई उत्तिकै माया गर्छु जति पहिला गर्थे। मेरो विचारमा यो सीरीज सबैभन्दा मनोरञ्जक रह्यो। म सदा शीर्षमा रहेर यात्रा समाप्त गर्न चाहन्थे। मैले यो निर्णय शुक्रवार राति लगभग साढ़े आठ बजी लिएँ। म गत केही समय, केही हप्तादेखि यसबारे सोचिरहेको थिएँ। ईंग्ल्याण्ड बनाम अष्ट्रेलिया मेरो निम्ति सदा शिखरमा रह्यो। मेरो एशेजसँग प्रेम सम्बन्ध छ। मेरो अन्तिम प्रदर्शन एशेजमै होस् भन्ने मेरो शुरुदेखि नै इच्छा रहेको थियो। मैले हिजो राति नै स्टोक्सी (कप्तान बेन स्टोक्स)-लाई बताएँ अनि आज बिहान चेञ्जिंग रूमलाई पनि बताएँ। ईमानदारीपूर्वक भन्नु पर्दा यो मेरो निम्ति सही समय हो।
स्टुअर्ट ब्रडको नाममा १६७ वटा टेस्टमा ६०२ विकेट रहेको छ। जारी एशेज सीरीजमै उनले ६०० टेस्ट विकेट पूरा गरेका थिए। टेस्टमा यस उपलब्धिलाई यसअघि केवल चारजनाले हासिल गरेका छन्, जसमा मुथैया मुरलीधरन, शेन वार्न, जेम्स एण्डरसन र अनिल कुम्बले सामेल छन्। अहिले ब्रडसँग अझ एक ईनिंग्स खेल्ने मौका छ। यसैकारण ब्रडले आफ्नो आँकड़ामा सुधार गर्न सक्नेछन्। ब्रडका पिता क्रिस ब्रडले पनि ईंग्ल्याण्डको निम्ति क्रिकेट खेलेका थिए। अहिले उनी आईसीसीको म्याच रेफरी हुन्।
स्टुअर्ट ब्रडले गत केही सालदेखि ईंग्ल्याण्डको निम्ति केवल टेस्ट म्याच खेलिरहेका छन्। उनले आफ्नो अन्तिम वनडे म्याच २०१६ अनि अन्तिम टी२० म्याच २०१५-मा खेलका थिए। उनी २०१०-मा टी२० वर्ल्ड कप विजेता ईंग्ल्याण्ड टीमका हिस्सा थिए। ब्रडले १२१ वटा वनडे म्याचमा १७८ अनि ५६ वटा टी२०आई म्याचमा ६५ विकेट लिएका छन्। ब्याटिंगको कुरा गर्दा ब्रडले टेस्टमा एउटा शतक र १३ वटा अर्द्धशतकको सहायताले ३६५६ रन बनाएका छन्। उनको नाममा ४३८ वटा चौका र ५४ वटा छक्का पनि रहेको छ। वनडे र टी२०आई प्रारूपमा चाहिँ उनले ब्याटको साथ उल्लेखनीय योगदान दिन सकेनन्।
जेम्स एण्डरसन र ब्रडको जोड़ीलाई टेस्ट इतिहासको सबैभन्दा सफल बलिंग जोड़ी मानिन्छ। यी दुईले एकसाथ १३८ वटा टेस्ट म्याच खेलेर १०३७ विकेट हासिल गरेका छन्। यसबाहेक शेन वार्न र ग्लेन म्याकग्राको जोड़ीको नाममा मात्र १००० भन्दा अधिक विकेट रहेको छ। अष्ट्रेलियाई जोड़ीले एकसाथ खेल्दै १०४ वटा म्याचमा १००१ विकेट हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement