गान्तोक: सरसफाई प्रवर्द्धन तथा स्वच्छ पिउनेपानी व्यवस्थापनको महत्वबारे जनचेतना जगाउने उद्देश्यले “स्वच्छ पानी, स्वस्थ हमी” भन्ने नाराका साथ पिउने पानी ट्याङ्की तथा जलाशययुक्त ट्याङ्कीको एकदिने सरसफाई अभियान आयोजना गरियो। यो सचेतना कार्यक्रममा आँगनमा प्रशासन पहलको एक प्रमुख अङ्ग रहेको छ भने यस कार्यक्रमको नेतृत्व जिल्लापाल भीम ठटाल र अतिरिक्त जिल्लापाल गयास पेगाले गरेका थिए। उक्त कार्यक्रमको शुरूवात अप्पर टिम्बुरबुङ ग्राम पञ्चायत यूनिटबाट शुरू गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य र लक्ष्यबारे विस्तृतरूपमा आम मानिसहरूलाई जानकारी गराए। उनले विशेषगरी मनसुनको मौसममा पानीको सञ्चय अधिक हुने गरेकोले पानीका ट्याङ्की र जलासय सफा राख्नु पर्नेबारेमा जोड दिए। उनले पानीजन्य रोगहरू र कसरी स्वच्छ पानी आपूर्तिले राम्रो स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्नेबारे चेतना जगाउनको निम्ति यस कार्यक्रमको थाल्नी गरेको अवगत गराए। यस वर्ष सरसफाइ अभियानको लागि तोकिएको मिति गुरु पद्मसम्भवको जन्मजयन्तीसँग मिल्दोजुल्दो रहेको बताउँदै यस अभियानलाई शुभारम्भ गर्ने दिन भएको बताए। उनले जुलाईको अन्त्यमा वा अगस्त महिनाको पहिलो हप्तामा आयोजना गरिने यस्ता सरसफाई अभियानलाई वार्षिक कार्यक्रमकोरूपमा लिने जनाए।