कवि अशोक विश्वलाई साहित्य प्रतिभा पुरस्कार-२०२२ प्रदान

c7031767-08a6-4d17-904f-450246effff2

बाग्राकोट। २०२० मा स्थापना भएको कला-साहित्य संस्थान, सिक्किमले गत वर्ष झैं यो वर्ष पनि हिज बुद्ध जयन्ती तथा सिक्किम राज्य स्थापना दिवशको दिन दक्षिण सिक्किमको विकमत, खोर्लोङ्गले सिक्किम राज्य स्तरीय गरिमामय पुरस्कार-सम्मान गर्ने काम गऱ्यो। सन् २०१९ देखि २०२१ सम्म भारतभरिका नेपाली कविहरूको मौलिक कविता कृतिहरूको चयनमा जुरीले पश्चिम बङ्गालको जलपाईगढ़ी – डुवर्स अन्तर्गत बाग्राकोट चियाकमान निवासी भारतीय नेपाली साहित्यका बरिष्ठ साहित्यकार, कवि, पत्रकार एवं समाजसेवक अशोक विश्व लोहारद्वारा लिखित कविता संग्रह “तिमी सपना: म विपना” लाई चयन गऱ्यो। यसैको फलस्वरूप गत १६ मई २०२२ को दिन सिक्किम राज्य दिवसको शुभोपलक्ष्यमा सिक्किम राज्यले कवि अशोक विश्व लोहारलाई “साहित्य प्रतिभा पुरस्कार-२०२२” ले भब्य सम्मान गऱ्यो। उक्त कार्याक्रममा भारतीय नेपाली साहित्यका सर्जक थीरूप्रसाद नेपाल, चुनिलाल घिमिरे, विजयकुमार सुब्बा, पद्मश्री केदार गुरूङ, पद्मश्री सानु लामा, पद्मश्री बी.बी मुरिङ्ला, पद्मश्री द्रोपदी घिमिरे सहित सिक्किम सरकारका विभिन्न उच्च अधिकारीहरूको पनि उपस्थिति थियो। यस कार्यक्रममा १८ वटा कृतिहरूको पनि लोकार्पन गरियो। विश्वलाई पुरस्कारमा साल, स्मृति चिन्ह, नगद राशि र प्रशस्ति-पत्र प्रदान गरियो।

 पश्चिम डुवर्सको बाग्राकोट निवासी विश्व सत्तरको दशकदेखि भारतीय नेपाली साहित्य, पत्रकारिता र समाजसेवामा निरन्तर लागि परेका एक सुपरिचित व्यक्तित्व हुन्। उनी सन् १९८५ देखि १९९० सम्म डा.पारसमणि प्रधान र शिवकुमार राईको सानिध्यामा भारतको एकमात्र दैनिक नेपाली समाचारपत्र हिमालचुलीका सह-सम्पादक थिए भने सन् १९९१ देखि १९९७ सम्म दार्जीलिङ-टाईम्स दैनिक र आजभोलि दैनिकमा कार्यकारी सम्पादकको रूपमा पनि सेवा पुऱ्याएका थिए। त्यसरी नै डुवर्सभूमि, सम्वाद दर्पण, आग्रह, समकालीन चेतना, अवलोकन, हायमनदास राई किरात अभिनन्दन ग्रन्थ जस्ता पत्रिकाको पनि सम्पादनको बहन गरेका थिए। विश्वका आजसम्मका प्रकाशित कृतिहरूमा १) भारतमा नेपाली भाषाको मान्यता (लेख संग्रह), २) जीवन-नदी (कविता संग्रह), ३) दलित- आवाज (लेख संग्रह), ४) मनका पाटाहरू ( मुक्तक संग्रह), ५) मुटुको व्यथा ( गीत-गजल संग्रह), ६) बाँसुरीवाला (बाल कथा संग्रह) र ७) तिमी सपना: म विपना (कविता संग्रह) प्रकाशित भइसकेको छ।  पत्रकारिता र समाजसेवा गरे वापत दलित साहित्य अकादमी- नयाँ दिल्लीले डा.अम्बेडकर फेलोशिप राष्ट्रिय पुरस्कार -१९९५, साहित्यको निरन्तर लेखनमा महात्मा ज्योतिवा फुले फेलोशिप राष्ट्रिय पुरस्कार -२००८, निष्पक्ष पत्रकारिताको निम्ति नेपाली साहित्य समिति डुवर्सले कितापसिंह राई पत्रकारिता पुरस्कार -२०१० ले अघिबाटै पुरस्कृत भइसकेका छन्।   आज डुवर्सका बरिष्ठ कवि, साहित्यकार, समाजसेवकलाई जिउँदैमा कदर र सही मूल्याङ्कन गर्दै सिक्किम राज्यले यति ठूलो राज्य स्तरको पुरस्कार दिएर सम्मान गरेकोमा विशेष गरि सम्पूर्ण डुवर्सबासी हर्षले प्रफुलित भएका छन्। अनि कला-साहित्य संस्थान र सिक्किम सरकारप्रति आभार प्रकट गरेका छन्। अनि अहिले तिनलाई बधाई र शुभकामना दिइन उनका शुभचिन्तक मित्रवर्ग, विभिन्न संघ-संस्थाका पदाधिकारीहरू, साहित्यिक बन्धुहरू र गाउँ समाजकाहरू तिनका निवास स्थान बाग्राकोटमै गइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement