जोरथाङ: “माटो बचाउनु एसडीएफको प्रमुख लक्ष्य हो। माटो नै नबाँचे सिक्किमेको अस्तित्व पनि बाँच्दैन”, पूर्व मन्त्री तथा एसडीएफ पार्टीकी वरिष्ठ उपाध्यक्ष डा. निरु सेवाले मन्तव्य गरिन्। एसडीएफ पार्टीको जूम-सालघारी समष्टि अन्तर्गतको माबोङ-सिङ्गिङ जीपीयूमा समष्टि स्तरीय सभालाई सम्बोधन गर्ने क्रममा पूर्व मन्त्रीले रम्फू गेटबाट धमाधम केन्द्रीय कानूनहरू भित्रिइरहेको आरेप पनि लगाइन्।
“युनिफर्म सिविल कोड लागू भएको खण्डमा सिक्किमको ३७१ एफ यथावत र सुरक्षित रहनुपर्छ। सिक्किम जस्तो संवेदनशील राज्यमा सबै कुरा बचाउन आवश्यक छ। इन्नर लाइन परमिट (आईपीएल)-को माध्यमबाट सिक्किमको पहिचान र अस्तित्व बचाउन आवश्यक छ। २०२४ मा एसडीएफ सत्तामा आएपछि यस विषयलाई पहिलो प्राथमिकतामा राखिनेछ” ,एसडीएफ नेतृले भनिन्। सिक्किमको पश्चिम र दक्षिण जिल्लामा लगातार रूपमा संचालन हुँदै आएको क्षेत्र स्तरीय सभाको क्रममा आज यो समष्टि स्तरीय सभा राखिएको थियो। पूर्व विधायक वेगबहादुर राईको अध्यक्षतामा सम्पन्न सभामा पूर्व विधायक मनिता मगर, एसडीएफका वरिष्ठ उपाध्यक्ष डा. एडी सुब्बा, ओबीसी कमिशनका पूर्व चेयरमेन टीएन शर्मा, सतीशमोहन प्रधान तथा पार्टीका केन्द्रीय प्रवक्ता जेबी दर्नालको विशेष उपस्थिति रहेको थियो। एसडीएफका दक्षिण-पश्चिम जिल्ला उपाध्यक्ष-प्रभारी जेबी दर्नालले जुम-सालघारीका जनताले परिवर्तित सरकारमा झेलिरहेको समस्यामाथि प्रकाश पारे भने एसकेएम सरकार ग्रामीण जनताको आधारभूत आवश्यक्ता सम्बोधन गर्न विफल बनेको दाबी गरे। एसडीएफ सरकारले गरेका जनमुखी कार्ययोजनाहरूमाथि पनि दर्नालले प्रकाश पारे। एसडीएफ उपाध्यक्ष श्रीमती मनिता मगरले एसडीएफ सरकारमा नारीहरूले प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरूको स्मरण गरिन्। सिक्किमको नारी सशक्तिकरणमाथि शोध गर्न परे पवन चामलिङको नेतृत्वमा भएको नारीमुखी उपलब्धिहरूलाई नलिए शोध पूर्ण नहुने उनको भनाइ थियो। उनले अझ भनिन्-“एसडीएफ सरकारकाल सिक्किमेली नारीहरूका लागि स्वर्णिम काल हो। एसकेएम सरकार नारीको हक-हितमा काम गर्न असफल छ।” २०२४ मा एसडीएफ सरकार बनाउन किन आवश्यक छ भन्ने कुरामा उनले जोड़ दिएकी थिइन्। सभालाई रूबेन सुब्बा, विनोद राई, सञ्जीत राई, जेक किराँत र ज्ञानु राईले पनि सम्बोधन गरेका थिए। वर्तमान समयमा युवाहरूले झेल्न परिरहेको परिस्थितिलाई प्रकाश पार्दै उनीहरूले एसडीएफ पार्टी र नेता पवन चामलिङको नेतृत्व सिक्किमेली युवाहरूका निम्ति महत्त्वपूर्ण रहेको विचार पोखे। यसरी नै जुम वार्डका पञ्चायत सदस्य अगमसिंह राईले एसकेएम सरकारमा पञ्चायतहरू निष्क्रिय बनेर जनताका काम गर्न असमर्थ रहेको स्थितिबारे अवगत गराउँदै त्यसप्रति चिन्ता जताए। अध्यक्षीय सम्बोधनमा वेगबहादुर राईले एसकेएम सरकार आएपछि सिक्किम र सिक्किमेली जनताको हक, अधिकार र अस्तित्व मेटिएको दाबी गर्दै सबै जनता सचेत बन्नु पर्ने आह्वान गरे। यसै क्रममा उनले एनआरसी, सीएए, ओएनआरसीजस्ता केन्द्रीय कानुनहरू भित्र्याएर एसकेएम सरकारले सिक्किमेली जनताको अधिकार मासिदिएको आरोप लगाए। “वित्त कानून, २०२३ ले सिक्किमेको परिभाषा परिवर्तन गरेको छ। यसको जिम्मेवार गोले सरकार हो”, उनले थप आरोप लगाए। उनले भने,”राज्यका जनताले परिवर्तन खोजे तर सरकार परिवर्तन भएपछि जनताले गरेको अपेक्षा विपरीत दु:ख मात्र पाएका छन्।” सिक्किम बचाउन एसडीएफ पार्टीले थालेको ‘सिक्किम बचाऔँ अभियान’मा एकजुट भएर अघि आइदिन उनले युवाहरूलाई अपील गरे।