खरसाङ: पर्यावरणको सुरक्षा अनि संरक्षण गर्ने मूल उद्देश्य लिएर साथै वन -जङ्गलको आवश्यकतालाई मध्यनजरमा राखेर वर्तमानमा पालन भइरहेको वन महोत्सव। आयोजनाको क्रममा आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, वन विभाग, सोशियल फरेष्ट्री, खरसाङ रेञ्जको तत्वावधानमा खरसाङ चिम्नी – देउराली समष्टि अन्तर्गत तीन माईलस्थित माने अनि रमिते डाँडा परिसरमा वृक्षरोपण गरिओको छ। वन विभाग, सोशियल फरेष्ट्री, खरसाङ रेञ्जका रेञ्ज अफिसर लक्षमन राईको अगुवाईमा आयोजित गरिएको यस वृक्षरोपण कार्यक्रममा विभागका अधिकारी अनि कर्मचारीवर्ग, क्षेत्रका एफपीसीका सदस्यहरु साथै क्षेत्रवासीहरुको सहभागिता रेहेको थियो। यस कार्यक्रम अवधि विभिन्न प्रजातिका विरुवाहरु रोपेपछि रेञ्ज अफिसर लक्ष्मन राईले पर्यावरणको सुरक्षा र संरक्षण साथै वनको आवश्यकता अनि वन महोत्सव आयोजनको औचित्यमाथि प्रकाश पार्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, वन विभाग अधीनस्थ सोसियल फरेष्ट्री र टेरिटाेरियल रेञ्जद्वारा विभिन्न रेञ्जहरुमा यस प्रकारका वृक्षरोपण कार्यक्रम आयोजन भइरहेको बताए। उनले सबै क्षेत्रहरूमा एफपीसीका सदस्यहरु अनि स्थानीय वासिन्दाहरुको सहयोगमा विभिन्न प्रजाति साथै फलफूलका विरुवाहरु रोपिएको जानकारी गराउँदै सन्तुलित पर्यावरणको निम्ति वृक्ष रोपण अत्यावश्यक रहेको बताएका छन्।

वन जङ्गलको कमीले विश्वव्यापी समस्याको रुप धारण गरिरहेको अनि मानव जाति साथै सम्पूर्ण प्राणी जगतको अस्तित्व नै संकटमा पर्न लागिरहेको उल्लेख गर्दै उनले पर्यावरण प्रदुषणको समस्यासित जुझ्न, पर्यावरणलाई सन्तुलित राख्न साथै वनजङ्गलको वृद्धि ,संरक्षण र सम्वर्ध्दन गर्न सबै अघि आउने आव्ह्वान् पनि गरेका छन्।