गान्तोकः पश्चिम सिक्किममा एसडीएफ पार्टीको समष्टिस्तरीय सभा निरन्तर रूपमा भइरहेको छ। आज पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत जुम सालघारी निर्वाचन क्षेत्रको सिङ्गेङ गाउँमा वरिष्ठ उपाध्यक्ष एवम् पूर्व विधायक वेगबहादुर राईको अध्यक्षतामा सभा सम्पन्न भयो। अध्यक्षीय सम्बोधनमा वेगबहादुर राईले एसकेएम सरकार आएपछि सिक्किम र सिक्किमेली जनताको हक, अधिकार र अस्तित्व मेटिएकोले सबै जनता सचेत बन्नु पर्ने बताए। उनले एनआरसी, सीएए, ओएनआरसीजस्ता केन्द्रिय कानुनहरू भित्र्याएर एसकेएम सरकारले सिक्किमेली जनताको अधिकार मासिदिएको आरोप लगाए। वित्त कानुन २०२३ ले सिक्किमिज परिभाषा परिवर्तन गरेको छ, यसको जिम्मेवार गोले सरकार रहेको उनले ठोकुवा गरे।
राईले राज्यका जनताले परिवर्तन खोजे तर सरकार परिवर्तन भएपछि जनताले गरेको अपेक्षा विपरीत दुःख मात्र पाएका छन् भने। २०२४ मा पवन चामलिङको नेतृत्वमा फेरि एसडीएफको सरकार गठन गरी जनताका हरेक दुःख, तक्लिफलाई सम्बोधन गरिने र सिक्किमलाई पुनः समृद्धशाली बनाउनेछ, उनले प्रतिबद्धता व्यक्त गरे। सिक्किम बचाउन निम्ति एसडीएफ पार्टीले थालेको सिक्किम बचाऔँ अभियानमा एकजुट भएर अघि आइदिन युवाहरूलाई उनले आग्रह गरे। यसरीनै सभामा एसडीएफ पार्टीका दक्षिण-पश्चिम जिल्लाका उपाध्यक्ष-प्रभारी जेबी दर्नालले जुम-सालघारीका जनताले झेलिरहेको समस्या प्रकाश गर्दै एसकेएम सरकार ग्रामीण जनताको आधरभूत आवश्यक्तालाई सम्बोधन गर्न विफल बनेको आरोप लगाए। उनले एसडीएफ सरकारले गरेको जनमुखी कार्ययोजनाहरू आवगत गराउँदै एसकेएम सरकार तानाशाही सरकार हो भनी बताए।
वरिष्ठ उपाध्यक्ष डा. निरु सेवाले पार्टीले पारित गरेका महत्त्वपूर्ण प्रस्तावहरूबारे प्रकाश पारिन्। यसरी नै पार्टीकी उपाध्यक्ष मणिता मगरले एसडीएफ सरकारमा नारी जातिले प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरूलाई स्मरण गराइन्। आजको सभामा युवाहरूलाई पार्टीको नयाँ पदभारको कार्यालय आदेशपत्र प्रदान गरिएको जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।
-हिस