गान्तोक: पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत सरमसा गार्डनमा राज्य सरकारको परिवहन विभागको तत्वावधानमा आज सारथी सम्मान दिवस २०२३ पालन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
यस अवसरमा मुख्यमन्त्री तामाङको बाहुलीबाट नवगठित सिक्किम चालक वेलफेयर बोर्डका अध्यक्ष सोनाम ओङ्गडुप भोटिया साथै अन्य पदाधिकारीगणलाई अभिनन्दन साथै प्रमाणपत्र प्रदान गरियो। पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस बोर्डको निम्ति राज्य सरकारले छुट्टै बजेट आवण्टन गर्ने बताए। साथै यस बोर्डको गठन परिवहन विभागबाट नभएर सोझै राज्य सरकारको गृह विभागबाट अधिसूचना जारी गरेर गरिएको उनले जानकारी गराए। आफ्नो सम्बोधनको क्रममा २०१९ मा एसकेएम पार्टीलाई सरकारमा पुऱ्याउन चालकहरूले दिएको योगदानलाई कहिल्यै नभुल्ने मुख्यमन्त्री तामाङले बताए।