शहीदका परिवारहरूलाई नोकरी दिलाउन पहल गर्ने सभासद नवराज छेत्रीको आश्वासन
खरसाङ: खरसाङको तीनधारे महानदी समष्टी अन्तर्गत घैयाबारीमा पनि शहीद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम भुषण थापाको अध्यक्षता र बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। यस अवसरमा घैयाबारीको शहीद वेदीमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री र शहीदका परिवारका सदस्यहरूले शहीद वेदीमा धुप दीप प्रज्वलन गरी शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा घैयाबारी क्षेत्रबाट महेन्द्र नारायण प्रधान, शिवराज थापा, लवाङ तामाङ, मधुकर थापा, कृष्ण जोगी शहीद बनेका थिए। कार्यक्रममा शहीदका परिवारहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा अर्जुन योञ्जन र कवि मिलन प्रधानले कविता पठन गरेका थिए। कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा तीनधारे महानदी समष्टीको चारवटा ग्राम पञ्चायतहरूमा शहीद दिवस पालन गरिएको बताउँदै जीटीएले पहल गर्दै शहीदहरूका परिवारहरूलाई नोकरी दिने भएकोले गत वर्ष नै सबै सूची बुझाएको र त्यसको लागि आफुले पहल गर्ने आश्वासन दिएका छन्। कार्यक्रममा शिक्षक दिनेश प्रधानले पनि वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन आयोजक समितिको सचिव शंकु खवासले राखेका थिए। घैयाबारीमा सम्पन्न शहीद दिवस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सांगठनिक सचिव एंव प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा जानकारी गराएका छन्।