सबैले एकसाथ शहीद दिवस पालन गर्न सके मात्र शहीदको सपना पूरा हुन्छ: सभासद नवराज छेत्री
खरसाङ: गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्न साथै शहीदका परिवारहरूलाई सम्मान गर्नलाई तीनधारेमा शहीद दिवस पालन गरिएको छ। १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा तीनधारे क्षेत्रबाट तीनजना बिनय गुरुङ, किशेर थापा र कृष्ण जोगी शहीद भएका थिए। तीनैजनाको नाममा तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा बनाइएको शहीद वेदीमा शहीद दिवस पालन गरिएको छ।

उक्त शहीद दिवस कार्यक्रम चन्दु भुसालको अध्यक्षता र तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यमा साथै ईशान्त विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रमको शुरुमा शहीद वेदी अघि क्रिश्चियन, हिन्दु र बौध्द धर्म अनुसार पूजा अर्चना गरिएको थियो भने शहीदहरूका स्मृतिमा मौन धारण पनि गरिएको थियो। त्यसरी नै छेवाङ छेत्री र गौरव ब्राह्मणले कविता पठन गरेका थिए भने २७ जुलाई शहीद दिवस विषयमा शिक्षक युवराज सुन्दासले वक्तव्य राखेका थिए। कार्यक्रममा तीनधारे क्षेत्रबाट शहीद बनेका तीनैजना शहीदका परिवारहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नवराज छेत्रीले आफ्नो सम्बोधनमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्न बाध्यता मात्र ठान्छौं जुन राम्रो सोच होइन तर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्ने कार्य सबै राजनैतिक दलहरूले एकैसाथ गर्न पाए राम्रो हुने बताए। उनले भने, शहीदहरूका सपना गोर्खाल्याण्ड हो अनि हाम्रो पनि गोर्खाल्याण्ड नै हो। तर अहिलेसम्म हामीले दागोपाप र जीटीएको व्यवस्था देखेका छौं। शहीदको सपना तेतिबेला पूरा हुन्छ तब तीनधारेका सबै मानिसहरू छुट्टा छुट्टै होइन तर एकसाथ शहीद दिवस पालन गर्छौं। शहीदका परिवारहरूलाई नोकरी दिने कार्य जीटीएले गर्ने भनेकोले तीनधारे महानदी समष्टीको सबै शहीदहरूका परिवारको सूची तयार पारेर पठाईसकेको र शहीदका परिवारहरूले चाढ़ै नोकरी पाउनु पर्ने कुरामा जोढ़ दिएका छन्। कार्यक्रममा सभाध्यक्ष चन्दु भुसालले शहीदहरू कसैको पेवा नभएर सबैको हो अनि सबैले मिलेर शहीदहरूलाई श्रध्दाञ्जली दिनु पर्ने र हामीलाई छुट्टै राज्य दिए मात्रै शहीदहरूले न्याय पाउने बताए। उनले भने, शहीद हुन्छु भनेर हुँदैन, त्यसैले हाम्रो शहीदहरूले छुट्टै राज्यको लागि शहीद बनेका हुन्। तर हामी कहिले पनि एक भएका छैनौं। हामी अनेकतामा होइन तर एकतामा रहनुपर्छ। हामीले हाम्रो भावी पिढीको लागि कार्य गर्नुपर्छ। हाम्रोमा एकता आउनुपर्छ। चन्दु भुसालले दार्जिलिङका भाजपा सासंदले अब बोलेर मात्र हुँदैन तर केही गर्नुपर्छ कारण उनको समय सकिनु लागेको छ। त्यसैले गोर्खाहरूका लागि संसदमा केही बील पास गराउनुुपर्छ भनी बताएका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रमको संयोजक बिनयकुमार छेत्रीले पनि राखेका थिए। कार्यक्रममा शिवखोला ग्राम पञ्चायतको पञ्चायत सदस्य मोहनकुमार प्रधान, घैयाबारी दुईको पञ्चायत समितिको सदस्य साजन दर्जी र सदस्या पुष्पाकुमारी प्रधान, घैयाबारी ग्राम पञ्चायत तीनको सदस्य अनिल तामाङ, साहित्य कला संस्थान् तीनधारे, वरिष्ठ नागरिक कल्याण संगठन तीनधारे, विभिन्न विद्यालयहरूका प्रधान अध्यापिकाहरू, शिक्षक शिक्षिकाहरू र विभिन्न व्यक्तित्वहरू उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टीको विभिन्न क्षेत्रहरूमा पालन गरिएको शहीद दिवस विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्।