२७ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नेपालको लिटल किकर्स एकाडमीले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा बिहीवार भएको म्याचमा लिटल किकर्स एकाडमीले मनजीत इलेभेन (देविडांगा, दक्षिण पलास)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सागर खड़काले पहिलो हाफमा अनि सञ्जय धिमालले मध्यान्तरपछि गोल गरे। लिटल किकर्स एकाडमीका सञ्जय धिमाललाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। शुक्रवार खेलिने म्याचमा नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेड र कञ्चनजंघा फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।