गान्तोकः नाम्ची कलेजको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरुङको रहस्यमय मृत्युको जाँच गर्न सिक्किम सरकारले गठन गरेको न्यायिक जाँच आयोगले आफ्नो जाँच प्रक्रिया अघि बढाएको छ। सिक्किम उच्च न्यायालयका अवकाशप्राप्त न्यायाधीश एनके जैनलाई सिक्किम सरकारले पदम गुरुङ मृत्यु प्रकरणको जाँचका लागि एक सदस्यीय न्यायिक जाँच आयोगको जिम्मेवारी सुम्पिएको छ।
आयोगले हिजो बुधवारदेखि जाँच प्रक्रिया अघि बढाएको छ जसको पहिलो दिन आयोगले कुल आठजना गवाहीको वयान दर्ता गराएको जानकारी दिएको छ। जानकारी अनुसार, पहिलो दिन पदम गुरुङको मृत्यु भएको समय नाम्ची थानामा एसएचओ रहेकी दावा लामू पाख्रीन, सीआईडीका एसपी अङ्कुर अनिकेश, जोरथाङका एसडीपीओ केसाङ दोर्जी भोटिया, नाम्ची थानाका एसआई सिद्धार्थ सुब्बा, नाम्चीका एसडीपीओ पर्शुराम दाहाल, नाम्ची पुलिस स्टेशनका पीआई सावन गुरुङ, अनि दुईजना हेड कन्टेबल नयन राणा र धर्मराज छेत्रीको बयान दर्ता गरिएको छ।
सिक्किम सरकारले न्यायिक आयोग १२ जुलाईमा गठन गरेको थियो। आयोगले आज २७ जुलाई र भोलि २८ जुलाईका दिन नाम्चीको पीडब्ल्यूडी अतिथि गृहमा बसेर नागरिक समाजबाट पनि पदम गुरुङ मृत्यु प्रकरणको सबुत सङ्कलन गर्ने बताएको छ। पदम गुरुङको मृत्यु सम्बन्धित कुनै ठोष सबुत भए दिनमा आयोगमा बुझाउनसक्ने बताइएको छ। जानकारी गराइन्छ, पदम गुरुङको रहस्मय मृत्यु भएको एक महिना पूरा भएको छ। उनके मृत्युको रहस्यबारे छानबिन गर्न सरकारले गठन गरेको एसआईटीको रिपोर्ट सार्वजनिक भएको छैन। न्यायिक आयोगले एक महिनाभित्र सरकारलाई रिपोर्ट बुझाउनुपर्ने समय तय गरिएको छ।