गान्तोकः रानीपुलस्थित सरमसा गार्डनमा आयोजन हुने राज्यस्तरीय सारथी सम्मान दिवसको तयारी लगभग पूरा भइसकेको छ। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन् भने सो कार्यक्रमलाई भव्यताको साथमा सफल पार्न मन्त्रीगण, चालक-सारथीहरूसँगै एसकेएम नेतृत्वहरू हाल लागिपरेका छन्। यसै क्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले भोलि सम्पन्न हुने सारथी सम्मान दिवसको कार्य प्रगतिको जायजा लिन कार्यक्रमस्थलमा आज पुगेका थिए। यस अवधि उनले सारथीहरूको भव्य सम्मान गरिने यस कार्यक्रमको तयारी युद्धस्तरमा चलिरहेको जानकारी गराए। संसारको कुनै पनि क्षेत्र, राज्यको विकासमा चालक-सारथीहरूको भूमिका उल्लेख्य रहने खालिङले मन्तव्य प्रकट गरेका छन्।
चालक-सारथीबिना कुनै पनि यात्रीहरू आफ्नो गन्तव्यसम्म पुग्न नसक्ने उल्लेख गर्दै कुनै पनि सुविधाको मूल आधार चालक-सारथीहरू हुन् भन्ने विचार व्यक्त गरे। चालक दाजु-भाइहरूले हुरी, बतास, घाम, पानी, भोको, बिहान, राति जस्तै अवस्थामा पनि वाहन चलाएनन् भने एक प्रकारले हाम्रो जीवन नै ठप्प हुन्छ भन्ने खालिङले विचार पोखे। यसरी हाम्रो जीवनलाई क्रियाशील राख्ने चालक-सारथीहरूलाई सम्मान जनाउन कहिले पनि कसैले नसोंचेको उल्लेख गरे। तर २०१९-मा एसकेएम पार्टीको नेतृत्वमा राज्यमा सरकार गठन भएपछि मुख्यमन्त्री पीएस गोलेको दूरदर्शी सोंच अनुरुप राज्यका चालक-सारथीहरूलाई यसरी सारथी सम्मान दिवसमार्फत सम्मान गर्नुपर्छ भन्ने सोंच राखेर यो महत कार्य गरिएको उनले जानकारी गराए।
जानकारी गराइन्छ, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नेतृत्वमा रहेको राज्य सरकारले राज्यका चालकहरूलाई “सारथी’’-को उपनामसँगै सम्मान दिएपछि प्रतिवर्ष २७ जुलाईको दिन सारथी सम्मान दिवस पालन गरिन्छ। यो कार्यक्रममा उल्लेख्य योगदान पुऱ्याउने राज्यका सारथीहरूलाई सम्मान जनाउने गरिन्छ। योसँगै राज्य सरकारको तर्फबाट लगनशील, प्रगतिशील सारथीहरूलाई वाहन प्रदान गरिने गरिन्छ।
-हिस