खरसाङ: मणिपुरको घटनालाई लिएर दार्जिलिङ पहाड़मा कुनै प्रकारको नकरात्मक परिवेश सिर्जना नहोस् भनी खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु एंव भारतीय जनता पार्टीको नेता पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मणिपुरमा दुई महिलाहरूलाई पूर्ण रूपमा नग्न बनाएर कथित रूपमा सैकडौ मानिसहरूमाझ घुमाउँदै गरेको घटनालाई बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले भर्त्सना गरेका छन्। उनले मणिपुरमा यथाशीघ्र शान्तिको कामना गर्दै सबैलाई मणिपुरको लागि प्रार्थना गर्ने तथा शान्ति बहालीको लागि आह्वान् गरेका छन्। उनले मणिपुर घटनालाई लिएर दार्जिलिङ पहाड़ी क्षेत्रमा कुनै पनि प्रकारको नकरात्मक परिवेश सिर्जना नहोस् अनि यसको लागि हामी सबैले ध्यान दिनु पर्ने कुरामा जोड़ दिएका छन्। पेम्बा रिम्पोर्छेले विगतको आन्दोलनमा दार्जिलिङ पहाड़मा हाम्रो चेलीहरू, बुहारी, छोरीहरूलाई पनि अमानवीय अत्यचार भएको भएको बताउँदै त्यस समय दुई फिट दुरीबाट बुहारी, छोरीहरूमाथि कथित रूपमा गोली ठोक्ने कार्य गरिएको तर त्यसको लागि कसैले पनि आवाज नउठाएको आरोप लगाएका छन्। उनले आज मणिपुरमा भएको घटेको अमानवीय घटनाप्रति हामीले आवाज उठाउने कार्य गरिरहेका छौं, यो राम्रो कुरा हो तर हाम्रो राज्य पश्चिम बंगालमा पनि यस प्रकारको अमानवीय घटनाहरू भईरहेको तर यसको विरोध र यसको विरोधमा कसले आवाज उठाएको छ भनी प्रश्न गरेका छन्। उनले पश्चिम बंगालमा पनि भईरहेको अत्याचार र अमानवीय घटनाको विरोधमा ध्यान दिनु पर्ने आवश्यकता रहेको बताएका छन्।