गान्तोक। गत बुधबार राति मनिपुर राज्यमा गएको पैह्रौमा परि सिक्किम राज्यका एक जवान शहीद बनेका छन्। मंगन जिल्लाको अप्पर जंङ्गु निर्वाचन क्षेत्रस्थित रूकुल कायम निवासी नायक छिरिङ लेप्चा भारतीय सेनामा कार्यरत थिए। उनी केही महिनादेखि मनिपुरमा खटिएको जानकारी प्राप्त भएको छ। तर बुधबार राति मनिपुरमा पैह्रौ गएपछि उनी समेत धेरै जना शहीद बनेका थिए। आज उनको पार्थिव शरिर पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा ल्याएको थियो, जहाँ मन्त्री साम्दुप लेप्चा, विधायक पिन्छो नामग्याल लेप्चा, शहीदका परिवार लगायत स्थायनीहरूले शव ग्रहण गरे। पैह्रौको चपेटमा परि शहीद हुनेहरूलाई आज बागडुग्रा हवाइ अड्डामा भारतीय सेनाका ११औं बीर गोर्खा राइफल्सका जवानहरूले सैनिक सम्मान जनाए। प्राप्त जानकारी अनुसार उनको शव आज साँझसम्म जङ्गुमा पुऱ्याइने भएको छ।











