मणिपुर घटनामा प्रशासन पूर्ण रूपमा असफल भएको देखिएको छ: अनु प्रधान
दार्जिलिङ: मणिपुरमा नारी जातिमाथि भएको घटनाको विरोध जनाउँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति केन्द्रीय समितिले आज दार्जिलिङमा रैलीको आयोजना गरेको छ। मणिपुर घटनाको न्यायको लागि नारी शक्तिले निकालेको रैली दार्जिलिङको रेलवे स्टेशनदेखि शुरू भएर चौरास्तासम्म पुगेर विरोध सभामा परिणत भएको थियो। उक्त रैलीमा नारी शक्तिको दार्जिलिङ, खरसाङ, मिरिक, कालेबुङबाट नारी शक्तिका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उक्त रैलीमा नारीहरूले ‘मणिपुर घटनामा न्याय पाउनुपर्छ’, ‘अन्याय अत्याचारले सीमा नाघ्यो’, ‘नारीले न्याय पाउनुपर्छ’, ‘मणिपुरको घटनामा न्याय पाउनुक लागि गोर्खा सबै एकसाथ छ’ जस्ता प्ला कार्डहरू लिएर नारीहरूले रैलीमा भाग लिएका थिए। उक्त रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधानले मणिपुरमा नारीमाथि भएको घटनालाई लिएर नारी शक्तिले दार्जिलिङमा विरोध रैलीको आयोजना गरेको जानकारी गराउँदै मणिपुरमा नारीमाथि भएको घटनाको विरोध गर्दै न्यायको लागि यो रैली आयोजना गरिएको बताएकी छन्। उनले मणिपुरमा नारीमाथि भएको घटनाले मणिपुर प्रशासन पूर्ण रूपमा असफल भएको देखिएको छ भन्दै मणिपुरमा भएको घटनाको हामी घोर भर्त्सना गर्दै न्यायको मांग गर्दछौं भनी बताएकी छन्।

रैलीपछि दार्जिलिङको चौरास्ता परिसरमा सम्पन्न विरोध सभा अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले मणिपुरमा नरसंहार भईरहेको छ तर सरकारले केही गरेको छैन भन्दै यस घटनामा सरकारको लापरवाही रहेको आरोप लगाएका छन्। उनले देशको सम्पूर्ण विपक्षी पार्टीहरूले मणिपुर घटनामाथि प्रधानमन्त्रीलाई वक्तव्य दिनुपर्छ भन्दा पनि नबोलेको र भारतको इतिहासमा यस्तो कहिले नभएको पनि आरोप लगाएका छन्।