याङयाङ: प्रमुख विपक्षी एसडीएफ चेली मोर्चाले दक्षिण सिक्किमको याङयाङमा सोमबार प्रशिक्षण शिविर सम्पन्न गर्यो। महिला समूहलाई राज्यको वर्तमान राजनीति र उनीहरूको भूमिका विषय प्रशिक्षित गराउने उद्देश्यले आयोजित शिविरलाई स्रोत वक्ताहरूले सम्बोधन गरेका थिए। किजे भोटियाको विशेष उपस्थितिमा सम्पन्न शिविरमा दक्षिण जिल्ला प्रचारप्रसार सचिव दिलु दाहाल, दक्षिण जिल्ला चेली महासचिव अनिता गौतम, लाकी भोटिया, बिनिता राईको विशेष उपस्थिति रहेको थियो।
मणिपुर घटनाप्रति गहिरो समवेदना प्रकट गरी थालिएको कार्यक्रममा स्रोतवक्ताका रूपमा एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष एमएन दाहालको उपस्थिति रहेको थियो। दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै एसडीएफ पार्टी विचारको धरातलमा आधारित पार्टी रहेको बताए। ‘एउटा घर चलाउन जसरी एउटी महिलाको आवश्यकता पर्दछ त्यसरी नै राज्य चलाउनमा पनि महिलाहरूको भूमिका अनिवार्य रहेको हुन्छ’, उनले भने। सिक्किममा महिलाहरू नेतृत्वकारी भूमिकामा आउन आवश्यक रहेको दाहालले आह्वान गरे। सिक्किमको माटो र अस्तित्व बचाउन राज्यका गाउँ-गाउँमा महिलाहरू सक्रिय बन्नुपर्नेमा उनको विशेष जोड़ थियो।
निर्मला गुरुङद्वारा संचालन गरिएको कार्यक्रमलाई प्रचारप्रसार सचिव दिलु दाहालले पनि सम्बोधन गरेकी थिइन्। आफ्नो सम्बोधनमा दाहालले राज्यको राजनीतिक तथा सामाजिक परिवेश दूषित बन्दै गएकाले त्यसलाई सफा गर्ने हिम्मत महिलाहरूले बोक्नुपर्ने आह्वान गरिन्। यसरी नै दक्षिण जिल्ला महासचिव अनिता गौतमले सिक्किमे महिलाहरू सिक्किमको स्वाभिमान र माटो बचाउन संगठित हुनुपर्ने बताएकी थिइन्।