२६ जुलाईः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले घरेलु क्रिकेट सीजनको घोषणा गऱ्यो। भारतीय टीमले आउँदो सीजनमा घरेलु मैदानहरूमा १६ वटा अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। यसको शुरुवात आईसीसी वर्ल्ड कपको ठीक अघि अष्ट्रेलिया विरुद्ध सेप्टेम्बरमा वनडे सीरीजको साथ हुनेछ। अष्ट्रेलिया विरुद्ध तीनवटा म्याचको वनडे सीरीजको माध्यमले भारतीय टीमले वर्ल्ड कप अघि आफ्नो तयारीहरूलाई अन्तिम रूप दिने मौका पाउनेछ। अष्ट्रेलिया विरुद्ध पहिलो वनडे म्याच मोहालीमा २२ सेप्टेम्बरमा खेलिनेछ। त्यसपछि अन्य दुईवटा म्याच इन्दौर र राजकोटमा क्रमशः २४ र २७ सेप्टेम्बरमा खेलिनेछ। यसबाहेक भारतले २०२३-२४ घरेलु सीजनमा अष्ट्रेलिया विरुद्ध नोभेम्बर-दिसम्बरमा पाँचवटा टी२० म्याच पनि खेल्नेछ। आउँदो साल जनवरीमा अफगानिस्तान विरुद्ध तीनवटा टी२० म्याच अनि पछिबाट जनवरी-फरवरीमा ईंग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको सीरीज हुनेछ।
आईसीसी वनडे वर्ल्ड कपमा म्याचको आयोजन हासिल नभएपछि क्षुब्ध हुने मोहाली, नागपुर, राजकोट, इन्दौर र तिरुवनन्तपुरम जस्ता स्थलहरूलाई घरेलु सीजनमा कम्तीमा दुईवटा म्याचको आयोजन हासिल भएको छ। गत महिना वर्ल्ड कपको शेड्यूल घोषणा हुँदा त्यसमा मोहाली र इन्दौरको नाम नहुँदा धेरैले आश्चर्य व्यक्त गरेका थिए। मोहालीमा त २०११ वर्ल्ड कपमा भारत र पाकिस्तानबीच सेमिफाइनल म्याचको आयोजन भएको थियो, जसमा जीत हासिल गरी आयोजक देशले फाइनलमा स्थान बनाएको थियो। यसपाली वर्ल्ड कपको निम्ति म्याच आयोजन अधिकार हासिल नहुँदा पञ्जाबको सस्तारूढ़ दल आम आदमी पार्टीले खुलेर विरोध जनाएको थियो। यसरी नै तिरुवनन्तपुरमलाई पनि बाहिर गरिँदा कंग्रेसका नेता शशि थरूरले यसलाई बीजेपी-को षढ़यन्त्र बताएका थिए।
बीसीसीआईले यस हप्ता मीडिया अधिकार निविदाको घोषणा गर्न सक्छ अनि यस्तो स्थितिमा कार्यक्रमको घोषणा गर्नु जरूरी थियो। मीडिया राइट्स २०२३-देखि २०२७-सम्म पाँच सालको निम्ति हुनेछ। मार्चमा समाप्त भएको गत मीडिया राइट्स बीसीसीआईले डिज्नी स्टारलाई ६१३८.१० करोड़ रुपियाँमा बेचेको थियो, जुन सबै प्रारूपमा प्रति अन्तर्राष्ट्रिय म्याच लगभग ६१ करोड़ रुपियाँ गरेर थियो। यसपाली बेस प्राइस त्यसभन्दा अधिक रहने सम्भावना छ। अक्टोबर-नोभेम्बरमा स्वदेशमा हुने वर्ल्ड कपपछि भारतले घरेलु मैदानहरूमा वनडे म्याच खेल्नेछैन। भारतले आउँदो साल अमेरिका र वेष्ट इण्डिजमा टी२० विश्व कपमा हिस्सा लिनेछ।