राभाङः सिटिजन एक्सन पार्टी सिक्किमले आगामी दुई महिनाभित्र मुख्यमन्त्री उम्मेदवारको नाम सार्वजनिक गर्ने घोषणा गरेको छ। मंगलवार दक्षिण सिक्किमको राभाङमा आयोजित नाम्ची जिल्ला कार्यकारी परिषद्को सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष लक्ष्मी प्रसाद काफ्लेले दुई महिनाभित्र २०२४ को विधानसभा चिनाउका लागि मुख्यमन्त्री उम्मेदवार घोषणा गर्ने जानकारी गराएका हुन्। पार्टीले मुख्यमन्त्री उम्मेदवार चयन गर्नका लागि चाँडै पार्टीको संसदीय समिति गठन गर्ने बताए। २०२४ मा सिटिजन एक्सन पार्टीले सरकार गठन गर्ने दाबी गर्दै उनले सरकार गठनपछि स्थानीय स्वशासनलाई सशक्त गराउने साथै बजेटको 30 प्रतिशत नगर पालिका र ग्राम पञ्चायतलाई प्रदान गर्ने बताए।
पार्टीको जिल्ला स्तरीय सभालाई सम्बोधन गर्दै सिटिजन एक्सन पार्टीका मुख्य समन्वयक गणेश कुमार राईले सरकार गठनपछि शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन व्यापक कार्यक्रमको घोषणा गरे। वर्तमान र पूर्व दुवै सरकारको कार्यकालमा सिक्किममा व्यापक भ्रष्टाचार भएको दाबी गर्दै उनले १२ हजार करोडको मात्र वार्षिक बजेट भएको राज्यमा ईडीको कार्यालय स्थापना भएको र यसले सिक्किम बदनाम भएको बताए। अदुरदर्शी नेताहरूका कारण सिक्किम राज्य बदनाम भएको र सिक्किम र सिक्किमे जनताले लगातार सम्मान गुमाउनु परेको बताए। सिटिजन एक्सन पार्टीको सरकार गठन गरेर गुमेको सम्मान फर्काउने उनले प्रतिबद्धता व्यक्त गरे। गणेश राईले सिक्किम राज्यमा क्यासिनोबाट मात्र १० हजार करोडको घोटला भएको दाबी गरेका छन्।
सिक्किम देशमै सबैभन्दा बडी घोटला हुने राज्यको सूचीमा दर्ता भएको आरोप लगाउँदै राईले सिक्किमको २५ देखि ३० प्रतिशत बजेट भ्रष्टाचार भइरहेको र यो राशि १८०० देखि लिएर २००० करोड सम्म रहेको बताए। भ्रष्टाचार र अन्य कारणले सिक्किम धेरै बदनाम भएका कारण २०२४ मा सरकार गठन गर्नु सिटिजन एक्सन पार्टीको निम्ति बाध्यता रहेको बताउँदै २०२४ मा पार्टीको सरकारर नबनिए सिक्किम बर्बाद हुने ठोकुवा गरे। सिक्किमलाई वर्षौदेखि गलत नेतृत्व भएका कारण नै सिक्किमको बदनाम भएको उनले बताएका छन्। पार्टीको जिल्ला स्तरिय समितिको सभालाई सम्बोधन गर्दै गणेश कुमार राईले निष्कासित ओएफओजे कर्मचारी नोकरी पुनर्बहाली गर्न पार्टी न्यायालय जाने बताए। अर्कोतर्फ २०२४ मा पार्टीले सरकार गठन गरेपछि दुई वर्षभित्र सबै सिक्किममा सेवारत सबै अस्थायी कर्मचारीलाई स्थायी गर्ने घोषणा गरेका छन्। सिक्किम युवाशक्ति भएको राज्य रहेको र डेमोग्राफिक डिभिडेन्टमा सिक्किम भएर पनि नेतृत्व गर्नेहरूले सिक्किमेको युवा शक्तिलाई सहि दिशा दिन नसकेको गणेश राईले आरोप लगाए। उनले भने, सरकारले सिक्किमलाई हजारौं करोडको ऋणमा डुबाएको छ भने युवाहरूलाई सहि दिशा दिन सकेको छैन। हाम्रोमा भिजन छ, लक्ष्य छ। सबैको सुझाउ लिएर एक्सन प्लान तयार पार्दैछौं। सरकार गठन गरेपछि युवा शक्तिलाई सदुपयोग गर्नेछौं।
उनले सरकार गठन गरेको तीन वर्ष भित्रमा भ्रष्टाचारमा पूर्ण लगाम लगाउने दाबी गरेका छन्। ओएफओजे कर्मचारीलाई वर्तमान सरकारले बोझको रूपमा लिएको छ भन्दै सिटिजन एक्सन पार्टी सरकारमा आएपछि उनीहरूलाई सम्पदाको रूपमा लिने बताए। राज्यमा शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि सिटिजन एक्सन पार्टीले प्रतिबद्धताका साथ काम गर्ने उनले बताए। यसका लागि प्रत्येक स्कूल कम्प्लेक्सलाई एडुकेशनल ब्लक बनाउने र उच्चतर माध्यामिक विद्यालयका प्राचार्यलाई संयुक्त सचिव, माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई अप निदेशक र निम्न माध्यामिक विद्यालयका प्राधानाध्यापकलाई सहायक शिक्षा अधिकारीको दर्जा दिएर गुणात्मक शिक्षा विकासको जिम्मेवारी सुम्पिने बताए। गणेश राईले राज्यका सबै शिक्षकहरूलाई भीआईपीको सम्मान दिने, शिक्षण पेसालाई सबैभन्दा सम्मानित पेशाको दर्जा दिलाउने, सिक्किममा चारवटा बीएड कलेज स्थापना गर्ने, उच्च शिक्षा लिने विद्यार्थीका लागि स्टुडेन्ट क्रेडिट कार्ड शुरु गर्ने, छात्रवृत्ति योजनालाई प्रभावकारी बनाउन यसको समीक्षा गरिने, प्रत्येक ग्राम पञ्चायत स्तरमा एउटा आवासीय स्कूल शुरु गर्ने र सिक्किममा पुलिस स्कूल बनाउने घोषणा गरे।
यस बाहेक मेडिकल कलेज, आवासीय खेल विद्यालय, आवासीय संस्कृति विद्यालय साथै आईआईटी र आईआईएम बराबरको शिक्षण संस्थान शुरु गर्ने पनि घोषमा गरेका छन्। सिटिजन एक्सन पार्टीलाई जनताको लगातार समर्थन बडेको दाबी गर्दै मुख्य समन्वयक गणेश कुमार राईले २०२४ मा सरकार गठन गरेर सिक्किमको कायापलट गर्ने दाबी गरे। पार्टीको जिल्लास्तरीय सभालाई अन्य वक्ताहरूले पनि सम्बोधन गरेका थिए।
-हिस