कालचिनी- मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले प्रत्येक वर्ष १४ मार्चको दिन राज्य सरकारद्वारा दिने कृषि रत्न पुरस्कार प्रदान कार्यक्रम कोरोना महामारीको कारण रद्द गरिएको थियो । वर्तमान उन्नयनको ११ बर्ष कार्यक्रम अन्तर्गत आज राज्यभरि नै श्रेष्ठ कृषक उपभोक्ताहरूलाई उक्त कृषि रत्न पुरस्कार प्रदान गरिने क्रममा आज हेमिल्टनगञ्जस्थित कम्युनिटी हल परिसरमा साताली बस्ती बासिन्दा सुज्ञान बसुमतालाई उक्त कृषि रत्न पुरस्कार स्वरूप स्मृति चिन्ह प्रमाणपत्रसहित १० हजार रुपियाँको चेक प्रदान गरिएको थियो।
कार्यक्रममा उपस्थित जोइन्ट बीडीओ लगायत कालचिनी सहकृषि अधिकारी प्रबोदकुमार मण्डल, कालचिनी पञ्चायत समिति चेयरम्यान अरुणा परियार, कृषि आत्मा प्रकल्प चेयरम्यान अधीर राय, कालचिनी कृषि कर्माध्याक्ष जोसेफ कुजूर, बन औ भूमि कर्माध्याक्ष रोशन उराउँ कृषि प्रकल्पको प्रबन्धक प्रियम चट्टोपाध्याय एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
प्रापकहरूमा यसपाली अलिपुरद्वार जिल्लाको ६ वटा ब्लकहरूबाट ६ जना श्रेष्ठ कृषि उपभोक्ताहरूको नाम चयन भए अनुरुप कालचिनी खण्डको साताली ग्राम पञ्चायत क्षेत्रबासी सुज्ञान बसुमताको नाम पनि घोषित भएकोले आज उन्नयनको ११ बर्षको कार्यक्रमबीच तिनलाई सो पुरस्कार प्रदान गरिएको थियो।
कृषि रत्न पुरस्कार पाएर सुज्ञान बसुमताले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद टक्र्याएका छन् भने आफू एकजना कृषिजीवी मानिस रहेको र अन्नबाली लगायत साग सब्जीहरूको मिश्रित खेती गर्दै आइरहेको र कृषि बन्धु प्रकल्प मार्फत पाएको रकमले मल (सार) किन्ने र जैविक सार बनाउन मदत पुगेको र सम्मानसहित पाएको रकमले खेतीमा नै प्रयोग गरिने जनाएका छन्।
यता कालचिनी कृषि कार्यालयका सहकृषि अधिकारी प्रबोदकुमार मण्डल र कृषि विभागका प्रबन्धक प्रियम चट्टोपाध्यायले प्रत्येक बर्ष नै राज्य सरकारले २००७ सालमा पूर्व मेदिनीपुर नन्दीग्राममा पुलिसको गोलीले १४ जना शहीद बनेकोले मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले विगत २०१३ सालदेखि यसैको नाममा कृषि रत्न पुरस्कार शुरु गरेको थियो भने यो प्रत्येक ब्लकमा एकजनालाई दिने क्रममा कालचिनी ब्लकको साताली बस्तीका सुज्ञान बसुमतालाई तिनको उत्कृष्ट खेती प्रणालीलाई उत्साह प्रदान गर्नलाई प्रदान गरिएको सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले थप जनाएका छन्।