गोरामुमो भनेको इतिहास बोकेको पार्टी हो: मन घिसिङ
दार्जिलिङ: गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिको आयोजनामा आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा केन्द्रीय समिति अध्यक्ष मन घिसिङको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकबाट गोरायुमोको प्रतिनिधिवर्ग अनि कार्यकर्ताहरुका व्यापक उपस्थिति रहेको थियो। सभामा पार्टी अध्यक्ष मन घिसिङद्वारा युवाहरुलाई आफ्नो सम्बोधन राखेका थिए। सभामा पार्टीको भावी रणनीतिबारे चर्चा गर्दै युवाहरुले अब कस्तो भूमिका निभाउनु पर्ने भन्ने विषय लिएर दिशा निर्देश दिएका छन्।

सभामा सम्बोधन गर्दै अध्यक्ष मन घिसिङले भने, ‘म अघि बढेको भनेको जाति र माटोको निम्ति हो र मैले जानेको नै त्यति मात्र हो। आजको दिनसम्म युवाहरुले साथ दिएका छन् भने अब अझ ठूलो जिम्मेवारी युवाहरुको काँधमा बडेको छ। युवाहरु अब सतर्कताको साथ अघि बढ्नुपर्छ किनभने गोरामुमो केवल मुद्दाको निम्ति अघि बढेको हो। गोरामुमो भनेको इतिहास बोकेको पार्टी हो। अकर्डमा हस्ताक्षर गरेको दल हो।”

पार्टी अध्यक्ष मन घिसिङले अघि भने,’मैले आउँदो भावी सन्तानको निम्ति कार्य गरेको हो। तपाईं हामीले जस्तो अब आउने भावी सन्तानले संघर्ष गर्नु नपरोस् भन्ने मेरो चहाना छ मैले अघिदेखि नै सबैलाई सम्झाउँदै आएको हो कि सबै एक साथ हिडौं भनेर। जबसम्म हाम्रो कुल ठिक हुँदैन तबसम्म हामीलाई राम्रो हुँदैन यसैकारण तपाईं हामी सबै मिलेर अब कुल ठीक पार्नुपर्छ। मुद्दा बोक्दा दु:ख हुन्छ काडै काँडाको बाटो हुन्छ,सजिलो छैन तर असम्भव भन्ने कुरा हुँदैन। मेरो निम्ति जाति र माटोको उन्मुक्ति पहिलो प्राथमिकता हो। हामी सबै एउटै गोर्खे सन्तान हौं। युवाहरुले राम्रो संस्कार दिनुपर्छ राजनैतिक संस्कार राम्रो हुनुपर्छ। अबको समय अति महत्वपूर्ण छ। तपाईं हाम्रो भाग्य बिगार्नु सक्छ। तपाईं हामीले धेरै संघर्ष गरेका छौं। त्यो संघर्षको फल सम्पूर्ण गोर्खा जातिले पाउनेछ। समस्त गोर्खा जाति नै लागि पर्नुपर्छ।’
सभा पछि पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा गोरायुमो केन्द्रीय समिति कोअर्डिनेटर संजोक गुरुङले भने, भर्खरै मात्र गोरामुमो अध्यक्ष मन घिसिङ दिल्लीमा भएको एनडीएको बैठकमा सामेल भएर फर्किएका छन्। यस विषयमा बैठकमाथि अध्यक्ष मन घिसिङद्वारा चर्चा परिचर्चा गरियो। उक्त बैठकमा सहभागी हुनु भनेको सबैको निम्ति गर्वको विषय हो। यसको निम्ति केन्द्र सरकार अनि एनडीएलाई सम्पूर्ण गोर्खाहरुको तर्फबाट आभार व्यक्त गर्दछौं। गोरामुमो केवल मुद्दाप्रति अडिग छन्। अध्यक्ष मन घिसिङद्वारा जारी गरिएको दिशानिर्देशलाई हामी गोरायुमोले भावी कार्यक्रमहरु गर्नेछौं भनी संजोक गुरुङले जानकारी दिएका छन्।









