मिरिक: पहाडको अन्यत्र स्थानहरूको पञ्चायत समितिमा भागोप्रमोले बोर्ड गठन गर्ने निश्चित गरे तापनि मिरिकमा भने यस्तो भएन। मिरिमा संयुक्त मोर्चाले पञ्चायत समितिको बोर्ड गठन गर्ने पक्का पक्की भइसकेको छ। तथापि हालसम्म पञ्चायत समितिको बोर्ड अध्यक्ष को हुने हो यसबारे अहिले नै कुनै निष्कर्ष आएको छैन। यस्तोमा संयुक्त मोर्चाका विजयी पञ्चायत समिति सदस्य सचित गहतराजले आफूलाई पञ्चायत समितिको चेयरम्यानको रूपमा संयुक्त मोर्चाले मोहोर लगाए आफु उक्त पदको निम्ति योग्य रहेको दाबी गरेका छन्। उनले मंगलबार मिरिकमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उक्त मन्तव्य प्रकट गरेका हुन्। गहतराजले पञ्चायत समिति पहाडको लागि नौलो विषय भए तापनि आफूहरूसँग धेरै वर्षको राजनीतिक अनुभव भएको कारण कुनै प्रकारको अफठ्यारो नपर्ने बताए। उनले आफु पञ्चायत समिति चेयरम्यानको दौडमा रहे तापनि संयुक्त मोर्चाको निर्णयलाई नै शिरोपर गर्ने बताएका छन्। तर संयुक्त मोर्चाले आफुलाई उक्त पदभार दिए अनुशासित ढङ्गमा समिति सञ्चालन गर्ने गहतराजले ठोकुवा गरे। आफू विगतमा देशको एक सिपाही भएर कार्य गरेको कारण पनि अनुशासन भङ्ग नगरी कार्य गरेको बताउँदै उनले पहाडको नौवटा पञ्चायत समितिमध्ये मिरिकलाई मोडल मिरिक बनाउने संयुक्त मोर्चाको अडान रहेको बताएका छन्। उनले सरकारबाट ग्रामवासीको लागि आएको कुनै पनि सहुलियत बीच बाटोमा नहराउने बताउँदै जनताको सहुलियत सिधा जनतासामु पुग्ने बताए। यसरी उनले केन्द्र सरकारले पनि २०२३ भित्रमा गोर्खाहरूको माटोको मुद्दा फत्ते गर्नु पर्ने बताए। पहाडमा जीटीएले जनताको आकाङ्क्षालाई पुरा गर्न नसकेको स्पष्ट भएको बताउँदै उनले अब पञ्चायत समिति अनि ग्राम पञ्चायतको प्रशासनिक एकाईले नै जनताको आकाङ्क्षा पूरा गर्ने बताएका छन्। उनले गत केही दिन अघि दिल्लीमा आयोजित एनडीएको बैठकमा गोरामुमो अध्यक्ष मन घिसिङलाई निमन्त्रणा आउनु भनेको पहाडको जनताको प्रतिनिधि गर्नु रहेको बताउँदै अब आफूहरू एनडीएभित्र समावेश भएर गोर्खा जातिको लागि कार्य गर्ने बताए।