मुम्बई: सुटिङको निश्चित समय नहुनु, नायक–नायिकाको पारिश्रमिकमा भिन्नता जस्ता विषयलाई लिएर भारतीय मनोरञ्जन उद्योग, विशेषगरी बलिउडमा लामो समयदेखि असन्तुष्टिको आगो भित्रभित्रै बलिरहेको थियो। यही आगोमा घिउ थप्ने काम गरेकी थिइन् अभिनेत्री दीपिका पादुकोणले। सन्दीप रेड्डी भाङ्गाको फिल्म स्पिरिट मा ८ घण्टे सुटिङको शर्त उल्लङ्घन भएपछि दीपिकाले उक्त परियोजना छाडेकी थिइन्। त्यसपछि यो विषय बलिउडसहित सम्पूर्ण भारतीय फिल्म उद्योगमा व्यापक बहसको विषय बनिरहेको छ।
यस विषयमा क्रमशः धेरै कलाकारहरूले मुख खोलिसकेका छन्। अब यस सूचीमा वरिष्ठ अभिनेता सुनील शेट्टीको नाम पनि जोडिएको छ। हालै एक राष्ट्रिय मिडियालाई दिएको अन्तर्वार्तामा उनले यसबारे खुलासा गरेका हुन्।
शेट्टीले भने, “कामको दबाब, व्यस्तता र सुटिङको तनाव त हुन्छ नै, तर त्यसका लागि म आफूलाई थकित बनाउँदिन। उद्योगको हिस्सा भएर पनि म सधैं आफ्नै तालमा काम गर्दै आएको छु। जति समयको शिफ्ट तय भएको छ, त्यहीअनुसार काम गर्छु, त्योभन्दा बढी होइन। मानौँ मेरो शिफ्ट बिहान ९ देखि बेलुका ६ सम्म हो भने म त्यही समयमा काम पूरा गर्छु, अतिरिक्त समय बस्दिनँ। यही मेरो कार्यशैली हो, सम्झौतामा होइन, अनुशासनमा आधारित काम।
उनले थपे, “तर यदि मैले देखेँ कि निर्मातालाई आर्थिक घाटा भइरहेको छ र त्यसका लागि मेरो कामको समय बढाउनुपर्ने अवस्था छ भने म त्यसमा सहमत हुनेछु। तर दुई पक्षबीच स्पष्ट समझदारी हुनु आवश्यक छ। लगातार १२ देखि १८ घण्टा सुटिङ गर्नु पूर्ण रूपमा अव्यावहारिक हो।
आफ्नो अनुभव सुनाउँदै शेट्टीले भने, “म प्रायः एक्सन हिरोका भूमिकामा काम गर्थें। एक्सन दृश्यको सुटिङ अत्यन्तै शारीरिक रूपमा थकाउने हुन्छ। त्यसैले समयमै ब्रेक र दिउँसोको खाना अनिवार्य थियो। यी दुई कुरा पाएपछि मात्र म पुनः ऊर्जा लिएर काम गर्न सक्थेँ। किनकि कुनै दृश्यमा उत्कृष्ट अभिनय निकाल्न यी आधारभूत सुविधाहरू आवश्यक हुन्छन्।
उनका अनुसार, “कुनै पनि मानिसले अत्यधिक कामको दबाबमा आफ्नो उत्कृष्ट प्रदर्शन दिन सक्दैन। कार्यस्थलमा निरन्तर ओभरवर्कले गुणस्तर खस्काउँछ।
उल्लेखनीय छ कि दीपिका पादुकोणले ८ घण्टे सुटिङको मुद्दा उठाएपछि बलिउडमा एक किसिमको बहस र परिवर्तनको लहर सुरु भएको छ। धेरै कलाकारहरूले यसको समर्थनमा आवाज उठाइसकेका छन्। अब त्यसै बहसमा सुनील शेट्टी पनि खुलेर अघि आएका छन्।











