गान्तोक: भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) ले देश स्वतन्त्र भएको ७५औं वर्ष पुरा गरेको अवसरमा ७५ दिवसीय लङ रेञ्ज पट्रोल (लामो दूरत्वको गस्ती) आयोजना गरिरहेको छ। आईटीबीपीले यसको कोड- नेम ‘अमृत २०२२’ राखेको छ। यस अभियान अन्तर्गत आईटीबीपीले ७५ दिनमा भारत-चीन सीमा क्षेत्रमा पर्ने काराकोरमदेखि जाचेप लासम्म गस्ती लगाउने लक्ष्य लिएको छ। यो अभियान गत १ अगस्तदेखि शुरू गरिएको हो र आगामी १४ अक्टोबरसम्म चल्नेछ। यो अभियान सिक्किममा ६ सेप्टेम्बरदेखि शुरू भएको छ भने १४ सेप्टेम्बरसम्म चल्नेछ। यसपछि, यस अभियानको ध्वज पूर्वोत्तर सीमान्त मुख्यालयलाई सुम्पिने छ।
आज यस अभियानको ध्वज आईटीबीपीको १३औं बटालियनका सेकेण्ड इन् कमाण्ड तथा पट्रोलिङ लिडर हरि सिंहलाई हस्तान्तरण गरिएको छ। कमाण्डेन्ट मुकेश यादवले यो पट्रोलिङ क्याम्पेन मात्र होइन तर, सीमा क्षेत्रमा बासोबास गर्ने स्थानीय नागरिकहरूको कला अनि संस्कृतिको हिस्सा बन्ने अभियान पनि रहेको बताए। यस अभियान अवधि भारत सरकारका विभिन्न कार्यक्रमहरूबारे स्थानीय मानिसहरूलाई जागरूक गरिने छ भने ठाउॅं ठाउॅंमा चिकित्सा शिविरहरूको पनि आयोजना गरिने छ। कमाण्डेन्ट यादवले पट्रोलिङ टीमलाई बधाई दिॅंदै टीम आफ्नो उद्देश्य पूरा गर्न सफल बन्नेछ भनी आशा व्यक्त गरे।










